पत्याएकै हुन् त पूर्वराजाले धवलशमशेरलाई ?

नेपालगञ्ज – नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले गत शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । पूर्वराजा र डा. राणाको भेटपछि राजावादी र हिन्दुवादीहरु उत्साहित देखिन्छन् ।
पछिल्लो दिनमा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रको माग राख्दै देशव्यापी प्रदर्शन भइरहेको बेलामा पूर्वराजाले हिन्दुवादी नेताहरुसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसमा डा. राणासँगको भेटपछि यस क्षेत्रका राजावादीहरु खुशी देखिन्छन् ।
केही वर्षअघि नेपालगञ्ज आएका बेलामा पूर्वराजासँग राम्रै हिचमिच बढाएका मेयर डा. राणाले राजधानी पुगेका बेलामा राजासँग भेट गर्नुलाई अर्थपूर्ण रुपमै हेरिएको छ । नेकपा र कांग्रेसको जगजगीको बेलामा नेपालगञ्जस्तो पुरानो शहरबाट पुनः मेयर निर्वाचित हुनु, प्रष्ट वक्ता हुनु, तलव नलिनु, भ्रष्टाचारको सधैं विरोध गरिरहनुजस्ता कारणले पूर्वराजाले धवलशमशेर राणालाई पत्याएको एकथरीको भनाई छ ।
पछिल्लो दिनमा पूर्वराजाले ‘आफूलाई दलहरुले राजा नबनाएको र जनताले राजाबाट नहटाएको’ भन्न थालेका छन् । २०६३ बैशाख ११ गते भएको सम्झौतालाई दलहरुले कार्यान्वयन नगरेको बताउने गरेका राजावादीहरु चलिरहेको देशव्यापी प्रदर्शनमा जनताको राम्रै सहभागिता देखिदा उत्साहित देखिएका छन् । हिन्दु राष्ट्र अनि राजासहितको प्रजातन्त्रको वकालतमा पश्चिमबाट डा. राणाको उपस्थितिमा पूर्वराजाको विश्वास बढ्दै गएको राप्रपाका नेताहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !