एकै राती दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेमा उपचार गर्न आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ९, वनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, बेलुवाका ६८ वर्षीय पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराती मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान, प्रतिष्ठानमा स्वाव जाँच गरिएका घोराहीका ६७ वर्षीयलाई २६ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई कोहलपुर मेडिकल कलेजमा उपचार गराउन ल्याइएको थियो । उनको गएराती ११.५० बजे मृत्यु भएको छ । ६७ वर्षीय पुरुषलाई केही समयदेखि उच्च रक्तचापको समस्या रहेको थियो ।
तुलसीपुरका ६८ वर्षीय पुरुषको राती १.४० बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि मंसीर ४ गते कोहलपुर ल्याइएको थियो । उनलाई केही समयदेखि मधुमेहको समस्या थियो ।
एकै दिन दुई जनाको मृत्यु भएपछि बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !