छाउगोठमा हुर्केको पुस्ता

मेरी मुमालाई जब सुत्केरी व्यथाले च्याप्यो, हतारहतार छाउपडी गोठ (महिनावारी हुँदा र सुत्केरी हुँदा बस्नका लागि बनाइएको सानो र होचो गोठ) मा लगिएछ । हाम्रो घरको पछाडिपट्टि त्यस्तो गोठ थियो । लामो प्रसव व्यथापछि त्यहीँ म जन्मिएँ । मेरो पुस्ता छाउगोठमै जन्मिने सम्भवतः अन्तिम पुस्ता होला । एउटा कुरामा अहिले सन्तोष लाग्छ, कम्तीमा मेरा सन्तानले त्यो कालरात्रि देख्नु र भोग्नु परेन ।
मध्य तथा सुदूरपश्चिमका पहाडी बस्ती छाउपडीजस्तो सामाजिक अन्धविश्वासले अझै पनि बदनाम छन् । महिनावारी भएका महिला र सुत्केरीलाई घरभित्र बस्न दिइँदैनथ्यो । हरेकले घरछेउ सानो छाउगोठ बनाउँथे । सुत्केरी हुँदा होस् वा महिनावारी हुँदा, त्यही गोठमा महिलाले कष्टसँग बस्नुपथ्र्यो । अझै पनि हामी छाउगोठमा हरेक वर्षजसो किशोरीको ज्यान गएका समाचार सुन्न बाध्य छौँ । कहिले गोठमा निसासिएर त कहिले बलात्कृत भएर, कहिले सर्पले डसेर मृत्यु हुनेको खबर सुन्दा मलाई साह्रै दुःख लाग्छ । सामाजिक कुरीतिको भुङ्ग्रोमा पिल्सिएर मेरी मुमा र हजुरमुमाहरूको पुस्ताले भोग्नुपरेको उत्पीडन कल्पना गर्दा पनि आङ सिरिङ्ग भएर आउँछ ।
मैले सहरका सुविधासम्पन्न अस्पतालमा पनि गर्भवती र सुत्केरीले भोगेका पीडा र व्यथा देखेको छु, सुनेको छु । आफ्नै सन्तान जन्मिदा प्रत्यक्ष देखेँ । आफ्नै जीवन सङ्गीनीले भोगेको कष्ट नजिकबाट महसुस गरेको छु । नियमित गर्भ जाँच गराएर विशेषज्ञबाट प्रसूति गराउँदा त जोखिम हुन्छ । त्यस बेला गाउँको हाल के हुँदो हो ? म कल्पना पनि गर्न सक्दिनँ ।
गाउँमा सँुडेनी हुन्थे । उनीहरूले अनुभवका आधारमा सुत्केरी गराउँथे । न कुनै अध्ययन, न तालिम । परम्परागत ढङ्गले सुत्केरी गराउँदा थुपै्र गलत अभ्यास पनि हुन्थे । गर्भवतीको स्वास्थ्यमा थोरै मात्र जटिलता आयो कि अकालमा ज्यान गुमाउनु पथ्र्यो ।
न्वारन नगरेसम्म सुत्केरी र शिशुलाई अरुले छुँदैनथे । सुत्केरी स्वयंले स्याहार्नु पथ्र्यो । सुत्केरी राम्ररी नतङ्गिँ्रदै घाँसपात, स्याउला र दाउरामा लाग्नु पथ्र्यो । सुत्केरीले पोषिलो खानेकुरा र स्याहार पाउनु पर्ने बेलामा अभाव र गरिबीले आधा पेट खाएर सुत्नुपर्ने अवस्था थियो । अलिकति गरिबी, अलि धेरै अन्धविश्वासले सुत्केरी हुनु ठूलो कष्ट व्यहोर्न तयार हुनुझैँ थियो ।
भर्खरै जन्मेको बच्चालाई गोठमा सुताएर वा डोकोले छोपेर सुत्केरी घरबाहिरको काममा लाग्नु पथ्र्यो । जन्मेको केही दिनपछि मुमाले मलाई पनि डोकोले छोपेर घाँसपात गर्न थाल्नुभयो रे ! एक दिन नजिकैको खेतबारीतिर घाँस काट्न जानुभएको रहेछ । साँझ फर्केर दुध खुवाउन मलाई छोपेको डोको हटाउँदा त सँगै सर्पसमेत रहेछ । मुमा अत्तालिनु भयो । चिच्याउनु भयो । सर्प केही नगरी भागेछ । एउटा ठूलो भाग्यले मेरो ज्यान जोगियो ।
यो कुरा हाम्रो घरपरिवार र सिङ्गो गाउँले थाहा पायो । सबैले अनौठो मानेर घटना सुने । तर, सुत्केरीलाई गोठमा राख्दा यस्तो जोखिम मोल्नु प¥यो भन्ने कोही निस्केनछ । बरु बुढापाकाहरूले भनेछन्, ‘ती नाग देवता हुन् । त्यसैले बच्चालाई केही गरेनन् । नागले रक्षा गरेकाले तिम्रो छोराको आयु लामो हुन्छ, ठूलो मान्छे हुनेछ ।’
मुमाले सुनाएको यो घटनाको काल्पनिक दृश्य बारम्बार मेरो आँखामा आइरहन्छ । संयोग भनौँ वा भाग्य, मलाई सर्पले डसेन । तर, आज पनि म सर्प देख्दा तर्सिन्छु । सबैभन्दा धेरै केहीबाट डर लाग्छ भने त्यो सर्प नै हो ।
छाउगोठमा सर्पले टोकेर सुत्केरी वा शिशुको मृत्यु भएका समाचार पढ्दा त्यो मेरै कथा हो भनेझैँ लाग्छ । आफू त्यस्तै कालबाट बाँचेर आएकामा एक अर्थमा खुसी पनि लाग्छ । कथंकथाचित मुमाले केही ढिलो गरेको भए के हुन्थ्यो ? डोको झिक्दा सर्पले डसेर भागेको भए के हुन्थ्यो ? यस्ता कुरा मेरो मनमा खेलिरहन्छन् ।
० ० ० ० ०
हामी र हामीअघिको पुस्ता छाउपडी गोठमै जन्मियो । आमाको दुध खाउन्जेल छाउपडी हुँदा सँगै गोठमै हुर्कियो । त्यसैले मैले हाम्रो पुस्तालाई छाउगोठमा हुर्केको पुस्ता भन्ने गरेको छु ।
हाम्रो गाउँमा छोराछोरीबीच असाध्यै भेदभाव थियो । छोरालाई अंश र वंशको एक्लो उत्तराधिकारी मानिन्थ्यो । छोरा जन्मिदा खुसी मनाइन्थ्यो, छोरी जन्मिदा खासै कुनै उत्साह हुँदैनथ्यो । छोरालाई पढाइन्थ्यो, छोरीलाई पराइको घरमा जाने जात भनेर पढ्नु पर्दैन भनिन्थ्यो । छोराले गल्ती गर्दा सहजै माफी पाउँथ्यो । छोरीलाई त्यो सुविधा थिएन ।
भान्सामा पाक्ने मीठोमसिनो खानेकुरामा पनि विभेद गरिन्थ्यो । बाबुआमाको पहिलो प्राथमिकतामा छोरा पथ्र्यो । घाँसपात, दाउरादेखि चुलाचौकाको सबै काम छोरीकै जिम्मा हुन्थ्यो । छोरीलाई कुनै प्रकारको अंश तथा सम्पत्ति दिँदैनथ्यो । विवाहपछि छोरी वा बहिनीको अवस्थाका बारेमा सोधखोज नै गरिँदैनथ्यो ।
महिलाहरूले महिनावारी (रजस्वला) हुँदा असाध्यै नराम्रो व्यवहार सहनु पथ्र्यो । उनीहरूलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिन्थ्यो । घरमा बस्न पाउँदैनथे । महिनावारी भएका महिला घरमै बसे देउता रिसाउँछन्, अनिष्ट हुन्छ, सर्पले लखेट्छ भन्थे बूढापाकाहरू । त्यही देउताको डरले वर्षौंवर्ष महिलाहरू नारकीय जीवन जिउन बाध्य छन् । नेपालका अरु ठाउँमा पनि महिनावारी भएका महिलालाई छोइछिटो गरिन्छ । सधैँ सुत्ने कोठा र ओछ्यानमा सुत्न दिइँदैन । भान्सामा पस्न र खाना पकाउन पनि बन्देज छ । पूजाआजा त झन् गर्ने कुरै भएन । मध्य र सुदूरपश्चिमी पहाडमा उनीहरूलाई छुट्टै गोठ बनाएर बसाल्ने गरिएकाले धेरै चर्चा र बदनामी कमाएको छ ।
सबै घरमा छाउपडी गोठ पनि थिएनन् । हाम्रो गाउँमा दुई÷तीन घरमा मात्र छाउगोठ थिए । तिनै घरमा महिलाहरू कोचिएर बस्नुपथ्र्यो । घरदेखि अलि पर छाउपडी गोठ हुन्थे । त्यस्ता छाउगोठमा कुनै झ्याल राखिएका हुँदैनथे । बत्ती पनि नबोल्दा ती अन्धकार कोठरी थिए । वर्षातमा पानी चुहिने र सर्प तथा किरा सहजै भित्र पस्न सक्थे । खानपिनको कुनै निश्चितता हुँदैन्थ्यो । महिनावारी भएकी महिला (छाउपडी)लाई टाढैबाट रोटी र चटनी दिइन्थ्यो । छाउपडीले घरबाहिरका सबै काम गर्न मिल्थ्यो । घाँस दाउरा र खेतबारीका सबै काम गर्न मिले पनि दुध, दही, घिउजस्ता पोषिला खानेकुरा खान पाउँदैनथे ।
सुत्केरी भएका महिलालाई छाउपडी गोठमा राखिन्थ्यो । उनीहरूलाई पनि छाउपडीसरह नै व्यवहार गरिन्थ्यो । छाउपडी गोठमा सर्पले टोकेर, चिसो र राम्रो स्याहार नपाएर शिशुहरूको ज्यान जान्थ्यो ।
म सोच्छु, गाउँमा भएको भए मेरी श्रीमती कन्चनले पनि दुई छोरीहरू छाउगोठमै जन्माउनु पथ्र्यो । हाम्रा दुवै छोरी सुविधासम्पन्न अस्पतालमा अप्रेसनबाट जन्मिएका हुन् । छाउगोठमा भएको भए के हालत हुन्थ्यो होला ? छोरी जन्मिएको केही दिनसम्म निरन्तर रक्तस्रावले कन्चनको स्थिति नाजुक भएको थियो । छाउगोठमा राखेर घाँसपात पनि गर्नुपरेको भए के हुन्थ्यो होला ? म कल्पना पनि गर्न सक्दिनँ ।
पछिल्ला केही वर्षमा छाउपडी प्रथाविरुद्ध जनता जागेका छन् । छाउपडी गोठ भत्काउने अभियान नै चलाइयो । छाउगोठ राख्नु र त्यहाँ बस्न बाध्य पार्नु गैरकानुनी हुन्छ । प्रहरी र प्रशासनको सक्रियतामा मध्य तथा सुदूरपहाडका हजारौँ छाउपडी गोठ भत्काइए । देशमा राजनीतिक, सामाजिक र विकृतिविरुद्ध वर्षौंदेखि आन्दोलन जारी छ । राजनीतिक आन्दोलन टुङ्गोमा पुगे पनि सामाजिक आन्दोलन रोकिएको छैन । सरकारले गाउँगाउँमा रहेका छाउगोठहरू त भत्कायो । तर, अन्धविश्वासी समाजमा जरो गाडेको यो सामाजिक समस्या उखेलिएको छैन । छाउपडी प्रथा स्वीकारेका मानिसका मनबाट छाउगोठ नभत्काएसम्म यो समस्याको स्थायी समाधान सम्भव देखिँदैन ।

(नेपालगञ्जका चर्चित कानून व्यवसायी लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकको अंश हो, यो । क्रियटिभ बुक्सले प्रकाशन गरेको यो पुस्तकको सम्पादन जनक नेपाल र कुमार श्रेष्ठले गरेका छन् । कसैलाई पुस्तक चाहिएमा ९८५१०९३२३४ सम्पर्क गर्न सक्नु हुन्छ ।)


error: यो सुविधा उपलब्ध छैन !