तिहारपछि विद्यालय खुल्ने

नरैनापुर – कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय तिहारपछि खुल्ने भएका छन् ।
गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मंसीर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार, विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरी एक हप्ताभित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ । सोही कार्यविधिका आधारमा विद्यालय सञ्चालन गरिने थारुले बताउनुभयो । ‘विद्यालयमा प्रत्यक्ष सिकाई सहजीकरण गर्दा अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था स्वास्थ्य शाखाले गर्ने, मापदण्ड पूरा भए नभएको निक्र्यौल अनुगमन समितिले गर्ने तथा विद्यालय सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने निर्णय गरेका छौं,’ थारुले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष शाहले अनलाइन कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै लामो समयदेखि कोरोना नदेखिएकाले अब निश्चित मापदण्ड बनाएर विद्यालय सुचारु गर्ने निर्णयमा पुगेको बताउनुभयो । ‘जेठको पहिलो सातादेखि कोरोनाले आक्रान्त बनेको नरैनापुर करिब एक महिना निकै संकटबाट गुज्रियो, त्यस यता भने नरैनापुरमा एकाध बाहेक कोरोना देखिएको छैन, लामो समय विद्यालय बन्द हुँदा सिकाई कार्य पूर्णरुपमा प्रभावित भएकाले अबदेखि विद्यालय चलाउने निर्णय गरेका हौ,’ अध्यक्ष शाहले भन्नुभयो ।
विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि तयार गर्न प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही संयोजक रहेको सात सदस्यीय समिति बनाइएको छ । शाहीले कसरी विद्यालय सञ्चालन गर्दा कोभिडको जोखिम कम हुन सक्छ, त्यसै अनुरुप अगाडि बढ्ने बताउनुभयो । उहाँले एकैसाथ सबै विद्यालय सञ्चालन नगरी तहगत रुपमा सुचारु गर्दै त्यसको प्रभाव हेरेर थप रणनीति अख्तियार गरिने बताउनुभयो ।
विद्यालयहरुको आर्थिक बर्ष २०७६–०७७ को लेखा परिक्षण गर्नका लागि सूचीकृत भएका लेखा परीक्षकहरुलाई समान विद्यालय संख्या पर्ने गरी नियुक्त गर्ने, मंसीर महिनामा लेखा परीक्षण सम्पन्न गरी लेखा परीक्षणको प्रतिवेदनको प्रतिलिपि शाखामा उपलब्ध गराउन लगाउने निर्णय पनि गरिएको छ ।
विद्यालयमा भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुलाई शिघ्र सूचारु गर्ने, रिक्त रहेका स्वीकृत दरबन्दी तथा राहत दरबन्दी पदपूर्ति गर्ने, पालिकाभित्र रहेका दरबन्दी विद्यालयगत तथा तहगतरुपमा हेरफेर गर्न नपर्ने देखिएकोले विद्यालय तथा दरबन्दी यथावत राख्ने, साक्षरता तथा अभिभावक शिक्षा सम्बन्धि कार्यक्रम अगाडि बढाउने, स्वयम्सेवक शिक्षक तथा सफाइकर्मी व्यवस्थापन सम्बन्धि कार्यविधि बनाउने, जय किसान मावि भोजपुरलाई कक्षा ११ को परिक्षा सञ्चालनका लागि अनुमति दिने, निःशुल्क पाठ्यपुस्तकको अपुग रकम माग गर्ने, नयाँ अनुमति तथा कक्षा थपको लागि परेका आवेदन अध्ययन गरी शिक्षा समितिको आगामी बैठकमा पेश गर्ने र ट्युशन तथा कोचिङ सेन्टर सञ्चालनका लागि अनुमति दिने निर्णय बैठकले गरेको शिक्षा शाखा प्रमुख थारुले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !