खजुरामा सहुलियतपूर्ण कर्जा

खजुरा – राष्ट्रिय बाणिज्य बैंक र खजुरा गाउँपालिकावीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौतामा हस्ताक्षर भएको छ ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्रभित्रका करीब सय युवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिने छ ।
खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिना धितो सहुलियत कर्जा प्रदान गर्ने नीति अवलम्बन गरेको थियो । कृषि तथा पशुपालन, सीपमूलक र उत्पादनगायतका क्षेत्रमा लगानीका लागि सिफारिस गरिने पालिकाले जनाएको छ ।
सहुलियत कर्जा महिला उधमीका लागि १ दशमलव ६ र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत रहेको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै पालिकाका प्रमुख कक्षपतिले स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि भोलीदेखि नै कार्यान्वयनमा जाने बताउनुभयो ।
राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुबेदीले निर्वाहमुखी नभई व्यवसायिकरणमा जानका निम्ति सहुलियतपूर्ण कर्जा दिने गरेको बताउनुभयो ।
खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले सीपको पहिचान गर्दै उत्पादनमा जोड्न सहुलियतपूर्ण कर्जा रहेको बताउनुभयो । राबा बैंक कृषि ऋण अधिकृत रोशन सुवेदीले ७ शीर्षकमा प्रदान गर्ने सहुलियतपूर्ण कर्जाबारे जानकारी दिदै ब्याज जोगाउनु नै व्यवसायीको लागि ठूलो उपलब्धि हुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !