कोरोना कहरमा उस्तै देखिएको महिला हिंसा
कुमार श्रेष्ठ (नेपालगञ्ज) – मदिरा सेवन गरेका श्रीमान पहलमानसिंह मगरसँग श्रीमती दिलमाया मगरको घरायसी कुरामा झगडा भयो । श्रीमान पहलमानसिंहले श्रीमतीलाई धक्का दिए, लठ्ठीले पनि हाने । श्रीमानले धकेल्दा दिलमायाको टाउको भित्तामा ठोक्किन पुग्यो ।
घटना बैशाख ३० गतेको थियो । जतिबेला देश लकडाउनमा थियो । ठूलो चोट नदेखिएकाले त्यो दिन दिलमायालाई उपचार गर्न लगिएन । भोलीपल्ट एक गते पनि अस्पताल गएनन् । टाउकोमा गम्भीर चोट लागेको आभास भएपछि दिलमायालाई श्रीमानले नै दुई गते कोहलपुर मेडिकल कलेजमा ल्याए । त्यही दिन दिलमायाको मृत्यु भयो ।
यो बाँकेको बैजनाथ गाउँपालिका वडा नं. २ पहाडीपुरको घटना थियो । बैंकमा गाडी चलाउने श्रीमान कोरोनाको त्राससँगै लकडाउन भएपछि फुर्सद भएकाले घरमा आएका थिए । सामान्य घरझगडामा दिलमायाको ज्यान गयो, श्रीमान प्रहरी नियन्त्रणमा पुगे ।
साउन ११ गते खजुरा गाउँपालिका वडा नं. ६, नयाँ गिजरामा घरासयी झगडा अपराधमा बदलियो । ६५ वर्षीया मिछिया थारुले बन्चरोले हान्दा ७५ वर्षीय श्रीमान लक्षीराम थारुको मृत्यु भयो । यो घरेलु हिंसाको पराकाष्ठा नै थियो ।
यी दुई घटना लकडाउनमा भएका ठूला अपराधका उदाहरणमात्रै हुन् । यो बीचमा घरेलु हिंसाका घटना धेरै भएका छन् । कोभिड–१९ का कारण देशमा लकडाउन हुँदा पनि बाँकेमा घरेलु हिंसाका घटनाहरु धेरै बाहिर आएका छन् ।
जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आएका केही घरेलु हिंसाका उदाहरण यस्ता पनि छन्, जो सामान्य कुराबाट सिर्जना भएका छन् । श्रीमान बाहिरबाट घरमा आए । श्रीमतीले पानी सोधिनछिन् । श्रीमानले कुटे । श्रीमती रुदै प्रहरीकहाँ आइपुगिन् । महिला सेलले केहीबेर दुवैका बीचमा छलफल गराएपछि अन्ततः कुरा मिल्यो । श्रीमान–श्रीमती घर फर्किए । यो असोज २७ गतेको घटना थियो, नेपालगञ्जकै ।
एकजना विक थरकी महिला छिन् । उनी केही दिन बिराएर प्रहरीको महिला सेलमा आइरहन्छिन् । उनको समस्या पनि श्रीमानले कुटपिट ग¥यो भन्ने नै छ । उजुरी पर्छ । प्रहरीले श्रीमान र श्रीमतीलाई बोलाउँछ । दुवैलाई राखेर कुरा गर्दा घटनाले ठूलो रुप लिदैन । उनीहरु मिलेर घर जान्छन् । केही दिनमा फेरि महिला प्रहरीकहाँ आइपुग्छिन् । उनी कम्तीमा चार पटक महिला सेलमा आइसकेको महिला सेलकी प्रहरी सहायक निरीक्षक सुमित्रा राना बताउनुहुन्छ ।
कोरोनाको कहरका बीचमा यस्ता घटना धेरै भएका छन् । ‘खाली दिमाग, सैतानका घर’ भनेझै लकडाउन र त्यसपछि पनि रोजगारी गुम्दा वा उद्योग, कलकारखाना, पसलहरु बन्द हुँदा फुर्सदले घरमै बस्नु पर्ने बाध्यताका बीचमा सामान्य कुरामा झगडा, विवाद, हिंसा भएको देखिन्छ । ठूलो विवाद वा कारणले नभई सामान्य कुरामा हिंसा भएका धेरै उजुरी छन् । महिला सेलमा रहेका उजुरी र जिल्ला प्रहरी कार्यालयको मुद्दाफाँटमा रहेको मुद्दा दर्ताको संख्याले लकडाउन र कोरोना कहरमा महिला हिंसा नरोकिएको देखिन्छ ।
महिला सेलकी प्रहरी सहायक निरीक्षक रानाका अनुसार, खाना लाउन नदिएको, भेदभाव गरेको, मदिरा सेवन गरेर कुटपिट गर्ने गरेको, शंका गरेको, सगोलमा रहेका कतिपयले श्रीमानले बुवाआमाको कुरा सुनेर हिंसा गरेको आरोप लगाएर उजुरी दिने गर्दछन् । ‘कुनै दिन त ८÷१० वटा उजुरी आउँछन्, कार्यालय परिसरमा मान्छेको भीड लाग्छ, महिला सेलका आठ जना महिला प्रहरीलाई झगडा छुट्याउन र वार्ता गराउनमै भ्याइ नभ्याइ हुन्छ, प्रसनि रानाले भन्नुभयो, हामीले मिल्नेजति मिलाइदिन्छौं । मिल्न नसक्नेलाई अदालत जान सल्लाह दिन्छौं ।’ गरिवी, अशिक्षा, सामाजिक रीतिरिवाज र कतिपयको शंका आशंका गर्ने बानीले गर्दा हिंसाले प्रश्रय पाइरहेको रानाको बुझाई छ ।
लकडाउन र कोरोनाले गर्दा सबैजसोका घरपरिवारसँगै भए । काम गर्न गएकाहरु फर्किए । घरपायक काम गर्नेहरु पनि उद्योग, धन्दा, पसलहरु, कार्यालयहरु बन्द भएकाले लामो समय घरमै बस्नु प¥यो । यद्यपि, केही दिन यता सबै खुलेका छन् । फेरि पुरानै रुटिनमा चल्न थालेका छन् । कार्यालय वा काम गर्न जानेहरु दिनभरी घरमै बस्दा स–साना कुरामा घरझगडा भएका घटनाहरु प्रहरी कार्यालयमा आइपुगेका छन् । जबकी एउटी महिलालाई आफ्नै श्रीमानविरुद्ध प्रहरी कार्यालयमा गएर उजुरी दिन आफैमा ठूलो जोखिम रहने गर्दछ । श्रीमानलाई कारबाही गराएपनि फर्किएर त्यही घरमा सँगै बस्नु पर्ने बाध्यता हुन्छ । ‘महिलाहरु अति नै भएपछि मात्रै प्रहरी कार्यालयमा आइपुगेका हुन्छन्, प्रसनि राना भन्नुहुन्छ, ‘सितिमिति महिलाहरु आफ्नै श्रीमानविरुद्ध प्रहरीकहाँ आउँदैनन् । अति नै भएपछि मात्रै उजुरी गर्न आउँछन् ।’ प्रसनि रानाले कतिपय महिलाले श्रीमानविरुद्ध उजुरी दिएपनि प्रहरीले ठूलोे कारबाही नगरिदिए हुन्थ्यो, तर्साइदिएर छोडिदिए हुन्थ्यो भन्ने मनसाय राखेको पाइने बताउनुभयो ।
कोरोनाको शुरुवाती दिनहरुमा महिला हिंसाका उजुरी कम परेको देखिन्छ । सरकारले कडा लकडाउन गरेकाले घर बाहिर जाने अवस्था पनि थिएन । चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेको थियो । बाँकेमा लकडाउनका साथै पटक–पटक निषेधाज्ञा लगाइयो । प्रहरीले घरबाहिर निस्किन दिएको थिएन । त्यसको बाबजुद चैत्र महिनामा घरेलु हिंसाका उजुरी २७ वटा परेका छन् । बैशाखमा १५, जेष्ठमा ३३, असारमा ५९, साउनमा ५७, भदौमा ७३ र असोजमा ८१ वटा उजुरी परेका छन् । कोरोना त्रासको शुरुवाती दिनमा फोनबाट नै हिंसा भएको जानकारी गराइदा कयौ उजुरीलाई महिला प्रहरी घरमै गएर कुरा मिलाएको बताउँछन् । कति उजुरी पायक पर्ने चौकीबाट प्रहरी गएर मिलाइदिएका छन् ।
बाँकेका एसपी ओमबहादुर रानाले लकडाउनको अवधिमा महिला हिंसाका मुद्दा दर्ता नरोकिएको बताउनुभयो । चैत्रदेखि भदौसम्ममा जबरजस्ती करणीका २१, करणी उद्योगमा ६, बहुविवाहमा ८, मानव बेचबिखनमा एक, बाल यौन दुव्र्यवहारमा दुई, आत्महत्या दुरुत्साहनमा ४, जबरजस्ती करणी गरी अपहरणमा तीन, बाल विवाहका एउटा मुद्दा दर्ता भएको छ ।
(इन्जाको सहयोगमा)