अन्धेरी नगरी चौपट राजा
क्रमशः
मालवीय विद्यालयमा प्राथमिक तह मात्र थियो । माथिल्लो तहका लागि मैले अर्को विद्यालय जानुपर्ने भयो । आमाले ६ कक्षा पढ्न हामी बसेको ठाउँबाट २५ मिनेटको पैदल दूरीमा रहेको भुकैलास भन्ने ठाउँमा रहेको पण्डित जवाहरलाल नेहरु विद्यापीठ रोज्नु भयो । भारतका प्रथम प्रधानमन्त्री नेहरुका नामबाट खुलेको विद्यालय थियो त्यो । त्यहाँ मैले ६ र ७ कक्षा पढँे । पढाइसँगै रचनात्मक क्रियाकलाप पनि हुने भएकाले म त्यहाँ रमाएँ ।
नाचगान, खेलकुद, नाटकजस्ता सिर्जनात्मक गतिविधि भइरहन्थे । एकपटक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा हाम्रो कक्षाका विद्यार्थीले पनि केही न केही प्रस्तुति गर्नुपर्ने भयो । साथीहरूले एउटा नाटक मञ्चनको प्रस्ताव ल्याए ।
त्यो नयाँ काम थियो, त्यसैले सबै राजी भए । नाटकको नाम ‘अन्धेरी नगरी चौपट राजा’ थियो । राजा नै चौपट भएपछि नगर त्यसै अँध्यारो हुने भयो भन्ने नाटकको सन्देश थियो । तयारी गर्दागर्दै स्कुलको वार्षिकोत्सव आइहाल्यो । हामीले नाटक देखायौँ ।
नाटकमा १०–१२ जना कलाकार थिए । नाटकका राजाले जे भने सबै त्यही मान्थे । राजाको खुट्टामा धूलो लाग्न नदिने भन्ने थियो । त्यसका लागि मान्छेपिच्छे अनेक उपाय निकाले । कसैले के भने, कसैले के ! अन्तिममा राजाले धूलोमा नटेक्न जुत्ता लगाउने कुरा भयो । नाटकमा मेरो भूमिका हास्यपात्रका रूपमा एक दलित पुत्रको थियो । मैले राम्रै अभ्यास गरेको थिएँ ।
त्यसैले दर्शक पेट मिचेरै हाँसे । यस विद्यालयमा पनि ७ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । अब फेरि स्कुल
छाड्नुपर्ने दिन आयो । ८ कक्षामा भर्ना हुन म खिदिरपुरको मनसातलामा अवस्थित लाजपत हिन्दी हाई स्कुलमा पुगेँ, जुन हामीकहाँबाट २० मिनेटको पैदल दूरीमा थियो । यो खिदिरपुर क्षेत्रको चर्चित विद्यालय मानिन्थ्यो । लाला लाजपत राय एक चर्चित समाजसेवी एवं स्वतन्त्रता सेनानी थिए । उनैको नामबाट विद्यालय खोलिएको रहेछ ।
………………………
बुबा बित्नु भो
म १२ वर्षको थिएँ । एक दिन टोलमा अङ्क राखेर मिलाएर खेल्ने परम्परागत खेल डोम्नस चल्दै थियो । छिमेकी दाइले आमा नेपालबाट आउनु भएको खबर सुनाए । म खेल बीचैमा छाडेर घरतर्फ दौडिएँ । धेरै दिनदेखि आमाबुबा साथमा हुनुहुन्थेन । त्यसैले नियास्रो लागिरहेको थियो ।
बुबाआमा नेपाल जानु भएको थियो, पहाडघर पर्वत । दुवै जना महिना दिनसम्म सँगै नहुँदा नियास्रो लाग्नु स्वाभाविकै थियो । त्यसैले आमा आएको खबर सुन्नासाथ म एकछिन पनि धैर्य नगरी दौडिएको थिएँ । हस्याङफस्याङ गर्दै घर पुग्दा मेरो सास बढेको थियो । मेरो खुसी धेरैबेर टिक्न पाएन । घरमा छुट्टै सन्नाटा थियो । आमा र ठूलो दाइ सेतो पहिरनमा थिए । अनुहार मलिन थियो । मेरो आँखाले बुबालाई खोज्यो । तर, उहाँलाई देखिनँ ।
मैले सोधेँ, ‘बुबा खोइ त ?’
जवाफ दिनुको सट्टा सबैजना डाँको छाडेर रुन थाल्नु भयो । म झन् आत्तिएँ । माइलो दाइले रुँदै भन्नुभयो, ‘अब बुबा हामीमाझ हुनुहुन्न । सदाका लागि यो धर्ती छाडेर जानु भयो ।’
पहिले त मलाई पत्यार लागेन । मनमनै लागेको थियो, किन सेतो पहिरन लगाएको होला ? मलिन अनुहार र रुनुको अर्थ पनि मैले ठम्याउन सकेको थिइनँ । तर, दाइले बुबा हुनुहुन्न भनेपछि मलाई लाग्यो, हाम्रो बुबा बित्नु भो ।
अब उहाँसँग मेरो कहिल्यै भेट हुने छैन । यो सपना हो कि विपना भनेझैँ भयो । म हुर्रिंदै आमाको काखमा पुगेँ र डाँको छाडेर रुन थालेँ । म जति रोए पनि बुबा फर्केर आउन सम्भव थिएन, आउनु भएन ।
लामो समयसम्म हामी बुबाको शोकमा डुब्यौँ । साथीहरू आफ्नो बुबासँग हिँडेको देख्दा पनि म बुबा सम्झेर रुन्थेँ । आमा र दाइले दैवको लीला भन्दै मलाई सम्झाउनु हुन्थ्यो । तर, मैले बुबालाई बिर्सनै सकिनँ । त्यतिबेला भारतमा पेन्सन सुविधा थिएन । १० महिनापछि सरकारले पेन्सन त सुरु ग¥यो, हाम्रो परिवारले पाएन ।
पितृवियोगको असर मेरो पढाइमा प¥यो । उमेर पनि कम भएकाले कक्षा माथि नचढाउन शिक्षकहरूले सुझाउनु भयो । मैले फेरि ८ कक्षा दोहो¥याएँ । बुबा बित्नु भएपछि घरमा आर्थिक अभाव सुरु भइसकेको थियो । आमा भने छोराहरूलाई राम्रो शिक्षा दिनुपर्नेमा दृढ हुनुहुन्थ्यो । आमाले अलिअलि जम्मा गरेर राख्नु भएको थियो । ठूलो दाइले आर्थिक अभावलाई पूर्ति गर्न र मेरो शिक्षामा भरथेग गर्न ट्युसन पढाउन सुरु गर्नुभयो । सन् १९८५ मा दोस्रो श्रेणीमा हाई स्कुल उत्तीर्ण गर्न सफल भएँ । ११ र १२ पनि सोही विद्यालयमा विज्ञान विषय लिएर पढँे । सन् १९८७ मा ५५ प्रतिशत अङ्क ल्याएर १२ कक्षा उत्तीर्ण भएँ, त्यसैमा चित्त बुझाएँ । पश्चिम बङ्गालमा मध्यम वर्गका विद्यार्थीका लागि त्यो राम्रै नम्बर मानिन्थ्यो ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)