ग्यालरीले जुटायो मनकारी, सहयोग भयो ६५ हजार
नेपालगञ्ज – फेसबुक ग्रुप ‘नेपालगञ्ज ग्यालरी’ ले दुई महिनाकी बालिका आरुषीको उपचारका लागि ६५ हजार ९ सय ३० रुपैया सहयोग जुटाएको छ ।
ग्रुपले सहयोगका लागि अपिल पोष्ट गरेपछि विभिन्न संघ संस्था, व्यक्तित्वहरुले सहयोग गरेका हुन् । उक्त रकमलाई ग्रुप सम्बद्धले बालिकाका बुवा खुशीराम थारुलाई हस्तान्तरण गरेको ग्यालरीका एडमिन समिरमान श्रेष्ठले जानकारी दिनुभयो ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण सञ्चालक सदस्य तथा कर्मचारीको तर्फबाट १५ हजार ७ सय ६०, ब्लड डोनेशन ग्रुप बाँकेका सदस्यहरूबाट १४ हजार, पूर्वमन्त्री तथा संघीय सांसद मोहम्मद इस्तियाक राइले दश हजार, ओम साई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट दश हजार, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नेपालगञ्ज इकाईबाट पाँच हजार सहयोग भएको थियो ।
खनाल होटलको फीड द हंगर अभियान तथा ग्यालरीका सदस्यहरू आयुष्मा शर्मा, सुप्रिया नेपाल, दिनेश सिंह, निलिमा कर्माचार्य, लक्ष्मी तिमिल्सेना, भूपाल चौधरी , ईन्द्र बहादुर थापा, सुस्मिता गुरुङ, पदम सुवेदी, राजन पौडेल, अमित कुमार कश्यप, सूर्य गौलीले व्यक्तिगत सहयोग गरेको ग्यालरीका एडमिन महेश श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दियाको बारबार्दिया नगरपालिका वार्ड नं. ४ निवासी खुशीराम थारुको २ महिनाकी छोरी आरुषी थारुको निमोनिया भएर भाद्र ३१ गतेदेखि नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएको खुशीरामले ऋणको जोहो गर्दै बच्चाको उपचार गराउँदै गर्दा ८०–९० हजार खर्च भइसकेपछि आर्थिक सहयोगको लागि ग्यालरीलाई अपिल गर्नु भएको थियो ।
नेपालगञ्ज ग्यालरीले डा. विनोद कर्णको समन्वयमा डा. पियुश कनोडिया र अस्पताल प्रशासनसँग अन्य हुनसक्ने सहयोगको लागि आग्रह गर्दै गु्रपमा सहयोग आब्हान गरेको थियो । डा. कर्णले बेड चार्ज निःशुल्क गरिनुका साथै अन्य सक्दो सहयोग गरिने जानकारी दिनुभयो ।