‘कला मानव जीवनकै एउटा पाटो हो’

बुवा गोपालकृष्ण पौड्याल र आमा कृष्णकुमारी पौड्यालको कोखबाट १९९७ साल वैशाख ४ गते जन्मनु भएका वरिष्ठ कलाकार (चरा चित्र) हेम पौड्याल नेपालका दुर्लभ चराहरुको अनुसन्धान गरी चित्रमा उतार्ने नेपालका एक मात्र ‘चरा कलाकार’ हुनुहुन्छ ।
चन्द्रमान मास्केसित १ वर्षको बेसिक कोर्र्स, वि.सं.२०१६–२०१९ तत्कालीन श्री ५ को सरकार घरेलु शिल्पकला उद्योग त्रिपुरेश्वरद्वारा सञ्चालित जर्मन प्रशिक्षक म्याक म्यानबाट ३ वर्षे डिप्लोमा कोर्स, वि.सं. २०२४–२०२६ मा दुई वर्ष सुप्रसिद्ध कलाकार लैनसिंह वाङ्देलबाट फाइन आर्ट प्रशिक्षण जस्ता चित्रकलामा औपचारिक शिक्षा तथा तालिम पाउनु भएका पौड्यालले ‘स्पेसियलिष्ट इन वर्ड पेन्टीङ्ग एण्ड इलुस्ट्रेटर फर वर्डस् अफ नेपाल’ को उपाधि हाँसिल गर्नु भएको छ ।
उहाँका प्रकाशित कृतिहरुमा बर्डस् अफ नेपाल–२०२६ (रवर्ट ल्फेमिङ् सिनीयर र डा. रवर्ट ल्फेमिङ जुनियरद्वारा लिखित) पुस्तकमा चराका चित्रहरू, जर्मन नागरिक जोनाथन लिङ्ग्देलद्वारा लिखित नेपाल एण्ड गसपल अफ द गड पुस्तक भित्रका सबै चित्रहरू, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपालका चराहरू–२०३९ भित्रका सबै चराका चित्रहरू, शान्तिको आलोक कविता सङ्ग्रह –२०६२ र द हिमालयन वर्डस् (चिल्ड्रेन मेमोरी गेमकार्ड) फाउण्डेसन भोङ्क प्रोजेक्ट स्वीडेन २०६३) चर्चित छन् ।
वातावरण र चराहरू शीर्षकमा ठाउँ–ठाउँ चित्रकला प्रदर्शन गरेर जनचेतना जगाउने अभियानमा पनि जुट्नु भएका पौड्यालले दिनप्रतिदिन तिव्र गतिमा भइरहेको वन विनास, चोरी शिकारी र तस्करीले गर्दा चार दशक अघि नै चराहरू नै लोपोन्मुख अवस्थामा पुगेको उहाँको मनमा चिन्ता देखिएको थियो । अहिलेकै अवस्था रहने हो भने ती सुन्दर पन्छीहरू चित्रमा मात्रै सीमित रहने चिन्ताले कलाकार पौड्याल ‘वातावरण र चराहरु’ शीर्षकमा ठाउँ–ठाउँ दर्जनौं ‘एकल चित्रकला प्रदर्शनी’ गरेर जनचेतना जगाउने अभियानमा जुट्नु भयो । २०३१ सालमा एकल चित्रकला प्रदर्शनी दार्जिलिङ्गबाट शुरु गर्नु भएको एकल चित्रकला प्रदर्शनी देशका विभिन्न भागमा २०७६ जेठ २९ गतेसम्म जारी राख्नु भयो ।
त्यसैगरि २०२५ सालदेखि २०७६ सालसम्म संयुक्त चित्रकला प्रदर्शनीमा पनि सहभागिता जनाउनु भयो भने सन् २०१९ मा अन्तर्राष्ट्रिय कला प्रदर्शनी (भारत, बंगलादेश, नेपाल) मा पनि सहभागी हुनु भयो । यसरी विगत चार दशकदेखि ‘वातावरण र चराहरु’ सम्बन्धमा चित्रकलाको माध्यमबाट जनमानसमा वातारण प्रति सचेत गराउन योगदान दिंदै आउनु भएको देखिन्छ ।
उहाँको चित्रकला हेरिसकेपछि दर्शकहरूले यी चराहरू पहिला घर वरिपरी सजिलै देख्न पाइन्थे, अहिले देखिन छाडेको प्रतिक्रिया दिंदै यसको कारण वन विनास गर्ने हामी मानिस नै हाँै भनेर पश्चाताप गर्ने गर्छन् । त्यसरी उनिहरूमा चेतना आउनु भनेको भविष्यमा चरा संरक्षणको लागि राम्रो सङ्केत मान्न सकिन्छ ।

२०४१ सालमा साउदी अरवको सीयातमा पाकिस्तान र फिलिपिन कलाकारहरू वीच सम्पन्न चित्रकला प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएका वरिष्ठ कलाकार पौड्यालले नेपालका थुप्रै संघसंस्थाहरुबाट सम्मान, प्रशंसा पत्र र कदर पत्र प्राप्त गर्नु भएको छ ।
२५ वटा साहित्यिक कृतिका श्रष्टा वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेलका जीवन साथी कलाकार हेम पौड्याल दम्पत्तिले वागबजार स्थित नेपाल कमर्सियल आर्टिष्ट संघमा रु.४ लाख रुपैयाँको ‘हेमगङ्गा युवा कला प्रतिभा पुरस्कार’ कोष २०६५ र भृकुटीमण्डप स्थित राष्ट्रिय अपाङ्ग कोषमा रु.४ लाख रुपैयाँको ‘हेमगङ्गा कला साहित्य अपाङ्ग प्रतिभा पुरस्कार’–२०६६, गोपालकृष्ण अभिवादन प्रतिभा पहिचान पुरस्कारका लागि २०६८ सालमा अभिवादन प्रतिष्ठान काठमाडौं रु.५० हजारको कोष तथा कबा पुरस्कारका लागि कपन बानेश्वर राष्ट्रिय साप्ताहिकमा अक्षय कोषमा एक लाख दश हजार रकमको कोष स्थापना गरेर वर्तमान पुस्तालाई पनि कला र साहित्यप्रति उत्प्रेरित गर्नु भएकोछ । ८ दशकमा पाइला टेक्नु भएका पौड्याल अहिले पनि चित्र कलाकारितामा सक्रिय हुनुहुन्छ ।
प्रस्तुत छ– हाल बुढानिलकण्ठ नगर पालिका वडा नं. १० शिवपुरी चोक काठमाडौंमा बसोबास गर्ने र पुख्र्यौली घर काठमाडौं जिल्ला वडा नं. ९ बत्तिसपुतलीमा बस्दा २०३२ साल पुस १२ गते शुक्रवारका दिन रामेश्वर अधिकारीले कलाकार पौड्यालसंग गरेको हुवहू कुराकानी । ४५ वर्ष पछि भेटिएको पाण्डुलिपिको खेस्राबाट तयार गरिएको हो र हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने साढे चार दशकदेखि नेपाली साहित्य र लेखन प्रति रुचि राख्दै आउनु भएका अन्तर्वार्ताकार डा. रामेश्वर अधिकारीले टिपोट गर्नु भएका सेतो कागजका पानाको खेस्रा सहितको अन्तर्वार्र्ता पठाउनु भएको हो । –सम्पादक ।

‘वातावरण र चराहरू शीर्षकमा ठाउँ–ठाउँ चित्रकला प्रदर्शन गरेर जनचेतना जगाउने अभियानमा पनि जुट्नु भएका पौड्यालले दिनप्रतिदिन तिव्र गतिमा भइरहेको वन विनास, चोरी शिकारी र तस्करीले गर्दा चार दशक अघि नै चराहरू नै लोपोन्मुख अवस्थामा पुगेको र अहिलेकै अवस्था रहने हो भने ती सुन्दर पन्छीहरू चित्रमा मात्रै सीमित रहने चिन्ताले कलाकार पौड्याल ‘वातावरण र चराहरु’ शीर्षकमा ठाउँ–ठाउँ दर्जनौं ‘एकल चित्रकला प्रदर्शनी’ गरेर वातावरण र प्रकृतिको रक्षाका लागि जनचेतना जगाउने अभियानमा जुट्नु भयो ।


……………………………………………..
रामेश्वर : एउटा प्रख्यात कलाकारको नाताले कलाबारे आफ्नो दृष्टिकोण बताइदिनु हुन्छ कि ? अथवा अर्को तरिकाले भनौं कलालाई तपाई कसरी परिभाषित गर्नुहुन्छ ?
हेम : कलाको परिभाषा विभिन्न समयमा अग्रज कलाकारहरूले आ–आफ्नो तरिकाले परिभाषित गरेका छन् । मेरो दृष्टिकोणमा कला मानव जीवनकै एउटा पाटो हो । जसलाई थरिथरिका रङ्हरूले रङ्गाएर सुन्दर पारिएको हुन्छ ।
रामेश्वर : कलाको वास्तविक उद्देश्य के हुनु पर्छ ?
हेम : कलाको वास्ताविक उद्देश्य सम्पूर्ण प्राणी जगतको हित गर्ने हुनु पर्दछ ।
रामेश्वर : कला, कलाको निम्ति भन्ने वाक्याङ्सको औचित्य प्रति तपाईको भनाई ?
हेम : कला, कलाको निम्ति मात्र नभएर कला मानव जीवनको निम्ति हुनु पर्दछ ।
रामेश्वर : आधुनिक अमूर्त कलाबारे तपाईको के भनाई छ ? के आधुनिक अमूर्त कलाले वास्ताविक उद्देश्य ओकल्न सक्छ ?
हेम : आधुनिक कलाप्रति मेरो झुकाव छैन । तापनि म आधुनिक कलाको सम्मान गर्दछु । किनभने कला आखिर कला नै हुन्छ । खाली त्यसलाई प्रस्तुत गर्ने तरिका मात्रै फरक हो ।
रामेश्वर : कलातर्फको तपाईंको झुकावको प्रमुख कारण यकिन गर्न सक्नु हुन्छ ?
हेम : म यकिन साथ भन्न सक्छु कि म सानो छँदा निलो आकाशमा सेता बादलका बुट्टाहरू देख्थें, अनि कपिमा सिसा कलमले उतार्ने प्रयास गर्दथें । घरको कौशीबाट हेर्दा जाडो महिनामा बत्तीसपुतलीको राम मन्दिरलाई हुस्सुले ढाक्दथ्यो । घाम लागे पछि हुस्सु विस्तारेैै उडेर जाँदा मन्दिरका गजुर देखिदै जान्थे । मलाई त्यो दृश्य असाध्य राम्रो लाग्थ्यो र कापीमा उतार्न मन लाग्थ्यो । त्यसरी म कलातिर लहसिएको थिएँ ।
रामेश्वर : तपाईको कलाको ज्ञान प्राप्तीको स्रोत के हो ?
हेम : पूजा कोठाका देउताका फोटोहरू, आकाशको बादलको बुट्टाहरू, राममन्दिरको गजुर बस यस्तै यस्तै… ।
रामेश्वर : अहिलेसम्मको तपाईको अनुभवमा आफ्नो कलाकार जीवन ?
हेम : अहिलेसम्म मेरो अनुभवमा कलाकार जीवन एकदमै उर्जाशील रहेको पाएको छु । कलाकै माध्यमबाट आफ्नो पहिचान बनाएको छु । तपाईहरू जस्तो असल साथीभाई भेटेकोछु । सँधै मनमा नयाँ–नयाँ कुराहरू आउने हुँदा रमाइलो उत्तिकै लागिरहेछ । दिक्क लाग्ने, के गरौं कसो गरौं भन्ने लाग्दैन । कलाकै विषयमा सोचिने हुँदा मनमा फाल्तु कुरा खेल्दैनन् । चित्र उतार्नकै लागि कहिले कता कहिले कता नयाँ–नयाँ ठाउँमा घुम्न जाने गर्छु । त्यसले गर्दा प्रकृतिलाई बुझ्ने, प्रकृतिसँगै रम्ने अवसर जुरेकोछ ।
रामेश्वर : विदेशी कलाकारसँग काम गर्नु भएको नाताले नेपाली र विदेशी कलाकारको विचार धारामा कला र कलाकार सम्बन्धमा केही फरक र भिन्नता पाउनु भयो कि ?
हेम : कला र कलाकारका सम्बन्धमा स्वदेशी र विदेशी कलाकारका विचार खासै फरक भेटिनँ । काम गर्ने तरिकामा भने धेरै भिन्नता पाएँ । किनभने उनीहरू समय सँगसँगै हिंड्छन् । हामी समयको पछि हिंड्छौं । उनीहरू जुन काममा हात हाल्छन्, समर्पित भई ज्यानको परवाह नगरि त्यो काम पूरा गरेर छाड्छन् । हामी भए हुन्छ नभए ठिकै छ नि भन्छौं ।
रामेश्वर : पन्छी कलाको क्षेत्रमा नेपालले दिनसक्ने योगदानबारे केही जानकारी दिनु हुन्छ कि ?
हेम : पन्छी कलाको क्षेत्रमा नेपालले दिन सक्ने जति योगदान अरु कुनै पनि देशले दिन सक्दैन । किनभने हिमाल, पहाड, तराई जस्तो भौगालिक विविधताले बनेको नेपालमा त्यहि अनुसारको हावापानी भएकोले संसारको सबैभन्दा धेरै ८६० प्रजातिका चराहरू नेपालमा पाइन्छन् । काँडे भ्याकुर नेपालमा मात्र पाइने चरा हो । ती सबै चराहरूको चित्र बनाएर विदेशमा पठाउन सकियो भने उनीहरूले कहिल्यै नदेखेका चरा पनि देख्न पाउँछन् भने तिनै चित्रको माध्यमबाट नेपाललाई संसारभरि चिनाउन सकिन्छ ।
रामेश्वर : तपाईको सबभन्दा मनपर्ने स्वदेशी र विदेशी कलाकार र कलाकृति कुन हुन् ?
हेम : स्वदेशी कलाकारमा लैनसिंह वाङ्देल र उहाँले बनाउनु भएका कला कृतिहरू । विदेशीमा लियोनार्डो दाभिन्ची र उहाँको कलाकृति मोनालिसा ।
रामेश्वर : नयाँ कृति बर्डस् अफ नेपालबारे केही जानकारी दिनु हुन्थ्यो कि ?
हेम : बर्डस् अफ नेपाल पुस्तक रवर्ट ल्फेमिङ् सिनीयर र रवर्ट ल्फेमिङ् जुनियर (बाबुछोरा) मिलेर लेखेका हुन् । उनीहरू अमेरिकन नागरिक हुन् । उनीहरू नेपालमा आएर यहाँको वन जङ्गल चाहारेर चराको अध्ययन गरी पुस्तक तयार पारेका थिए । उनीहरूकै भनाइ अनुसार त्यो पुस्तक तयार पार्न २५ वर्ष लाग्यो रे । नेपालका चरा चुरुङ्गी सम्बन्धमा लेखिएको त्यो नै पहिलो पुस्तक थियो र संसारभरका ठूला लाइब्रेरीहरूमा ‘बर्डस् अफ नेपाल’ पु¥याइयो । जहाँ–जहाँ त्यो पुस्तक पुग्यो, त्यसभित्रका चराका चित्र बनाउने कलाकारका नाताले आफू पनि पुग्न पाउँदा गौरवको अनुभूति हुनु स्वाभाविकै हो ।
त्यही किताब पढेर ओल्र्ड म्यागजिनमा मेरो अन्तर्वार्ता पनि छापे । कतिले त चित्रको अर्डर गर्थे । मैले हुलाक मार्पmत् पठाई दिन्थें र उनीहरुले नेपाल बैंकमा रहेको मेरो खातामा चित्रहरुको भुक्तानी पठाउने गर्थे ।
‘बर्डस् अफ नेपाल’ पुस्तक अँग्रेजी भाषामा लेखिएको हुँदा नेपाली भाषामा पनि लेखिनु पर्छ भनेर २०३९ सालमा तत्कालीन नेपाल राजकिय प्रज्ञा प्रष्ठिानबाट नेपालका चराहरू शीर्षकमा पुस्तक तयार पारिएको थियो । त्यसभित्रका चराको चित्रहरू मैले बनाएको थिएँ ।
रामेश्वर : कलाप्रति चाख लिने समुदायबाट तपाई के अपेक्षा गर्नुहुन्छ ?
हेम : कलाप्रति चाख लिने समुदायबाट मैले कला संरक्षणको अपेक्षा गर्दछु । प्रत्येक घरको बैठकमा एउटा भए पनि कलाकृतिले सजिएको होस् । पुस्तकालय, वाचनालय कलाले सजाइएको होस् । अन्तर्राष्ट्रिय स्तरको चित्रकला ग्यालरीको स्थापना गरी सबै कलाकारका कृतिहरूले भरियोस् ।
रामेश्वर : अन्तमा यहाँको कलाकारिता सम्बन्धि भावी लक्षको बारेमा केही जानकारी पाउन सकिन्थ्यो कि ?
हेम : मेरो भावी लक्ष भनेको नेपालका चराहरूको चित्रकलालाई नै निरन्तरता दिएर चरा संरक्षण गर्नु हुनेछ । किनभने दिनप्रतिदिन तिव्र गतिमा भइरहेको वन जङ्जल फँडानी, चोरी शिकारी, तस्करीले गर्दा केही चराहरू लोपोन्मुख अवस्थामा पुगेकाछन् । अहिलेकै जस्तो अवस्था रहने हो भने ती सुन्दर पन्छीहरू चित्रमा मात्रै सीमित रहनेछन् । त्यसकारण वातावरण र चराहरू शीर्षकमा ठाउँ–ठाउँ गई चित्रकला प्रदर्शन गरेर जनचेतना जगाउने अभियानमा लाग्नेछु ।
(अन्तर्वार्ताकार डा. रामेश्वर अधिकारी विगत तीन दशकदेखि संयुक्त राज्य अमेरिकामा बसोबास गर्नु हुन्छ । ४५ वर्षसम्म पनि यो अन्तर्वार्ता लगायतका अन्य अन्य महत्वपूर्ण पाण्डुलिपिका खेस्राहरु अमेरिकामा पुगेपछि पनि सुरक्षित राखेर प्रकाशनार्थ पठाउनु भएको छ ।)


error: यो सुविधा उपलब्ध छैन !