खजुराको कोरोना बिशेष अस्पताल बन्द

नेपालगञ्ज – बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आइसोलेसन अस्पताल शनिबारदेखि बन्द भएको छ ।
क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आइसोलेसन सेन्टर बन्द गरिएको हो । प्रदेश ५ सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिनादेखि कोरोना बिशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो ।
बाँकेमा सुबिधा सम्पन्न आइसोलेसन अस्पतालका रुपमा २ बेड भ्यान्टिलेटर, ६ बेड आईसियु सहित ५० बेडको कोरोना बिशेष आइसोलेसन अस्पताल बन्द भएसंँगै त्यहाँबाट पाउने सेवा नेपालगञ्जको भेरी अस्पतालमा दिइने छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हालसम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आइसोलेसन सेन्टरका रुपमा दिइने सेवा सुबिधा अब देखि भेरी अस्पतालले दिने बताउनुभयो । उहाँले कोभिड–१९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि मात्र बन्द गरिएको जानकारी दिनुभयो ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका डा. प्रवीण गुप्ताले बैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० बर्षिय पुरुषलाई आइसोलेसन सेन्टरमा राखेर दिइएको सेवा हालसम्म १ सय ९७ जना कोरोना पोजिटिभको सफल उपचार भएर सबै जनालाई घर पठाइएको बताउनुभयो । उहाँले शनिबार अन्तिम लटमा २२ जना ब्यक्तिहरु कोरोना जितेर घर फर्किएसंँगै आगामी दिनमा क्यान्सरको उपचार गर्नेगरि कोरोना बिशेष अस्पतालको सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा कोरोना बिशेष अस्पताल सञ्चालनमा थियो । जुन समितिमा डा. प्रकाश थापाको संयोजकत्वमा बिज्ञ तथा प्राबिधिक टिम, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिको संयोजकत्वमा आवास भोजन तथा यातायात लगायतका उप समितिहरु समेत सहभागी भई सफल कोरोना बिशेष अस्पतालका रुपमा ब्यबस्थापन गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !