डा. थापा र स्वास्थ्य अधिकृत श्रेष्ठ विभुषित

नेपालगञ्ज – कोरोनाविरुद्धको लडाईमा रातदिन खटिएका दुई स्वास्थ्यकर्मीलाई सरकारले विभुषित गरेको छ ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापा र जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठलाई संविधान दिवसको अवसरमा प्रबल जनसेवा श्री पदकबाट विभुषित गरिएको हो ।
कोरोनाको शुरुवाती त्रासमा कतिपय चिकित्सक र स्वास्थ्यकर्मीहरु घरभित्र बस्दा डा. थापा र स्वास्थ्य अधिकृत श्रेष्ठ सधैं फिल्डमा खटिएका थिए, अझैसम्म खटिएका छन् । उनीहरुले कोरोनाविरुद्ध गरेको कामको मूल्यांंकन भएको छ ।
अहिले त आम मानिसले नै कोरोनालाई पचाइसकेका छन् । डराउने अवस्था छैन । सरकारले नै सामान्य मान्दै लगेको छ । त्यो शुरुवाती चरणमा सबैमा त्रास थियो । मान्छेहरु घर बाहिर निस्किन डर मान्थे । त्यो बेला पनि यी दुई जना सधैं मैदानमा खटिएका थिए । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो पेशाप्रति इमान्दार भएर खट्नेलाई सरकारले मूल्यांकन गर्छ भन्ने कुरा यी दुई स्वास्थ्यकर्मीलाई विभुषित गरेर विश्वास दिलाउने काम गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !