प्रहरीलाई कोरोना सार्ने अझै भेटिएनन्
नेपालगञ्ज – बाँकेमा एक सय ४८ जना प्रहरीलाई कोरोना लागेको छ । त्यसमा आधा बढी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका छन् ।
केही दिनअघिसम्म कोरोनाको हटस्पटजस्तै बनेको जिल्ला प्रहरी कार्यालयमा ५८ जनालाई कोरोना लागेको थियो । त्यसमा अब २६ जना मात्रै डिस्चार्ज हुन बाँकी रहेको छ । अरुले कोरोनालाई जितेर काममा फर्किसकेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, जिल्लाभरीमा एक सय ४८ जना प्रहरीलाई कोरोना लागेकोमा ४१ जना डिस्चार्ज हुन बाँकी रहेका छन् । वडा प्रहरी कार्यालयका २९ जनाले कोरोना जितेर काममा फर्किसकेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा एकजना थुनुवालाई कोरोना देखिएपछि प्रहरीलाई कोरोना देखिन थालेको थियो । कोरोना सार्ने थुनुवा भने फरार रहेका छन् । अझै भेटिएका छैनन् । प्रहरीले उनको खोजीलाई तिब्रता दिइरहेको छ ।