मेयरले भने, ‘झुठो कसम खादै नहिड्नुस्’

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले उपमहानगरपालिकाको काममा टाङ नलडाउन पूर्वमन्त्री एवं सांसद मो. इस्तियाक राइलाई चेतावनी दिनु भएको छ ।
उपमहानगरपालिका कार्यालयमै पत्रकार सम्मेलन गरेर मेयर डा. राणाले भन्नुभयो, ‘आ–आफ्ना काममा जुटौं । अर्काको काममा डिस्टर्व नगरौं । उपमहानगरपालिकाको काममा टाङ नलडाउनुस् ।’ उहाँले चुनावका बेलामा प्रतिस्पर्धा गरौंला अहिले नै चुनावी प्रक्रियामा गएको जस्तो कसम खाएर नहिड्न सुझाव दिनुभयो ।
निर्वाचन क्षेत्र नं. २ अन्तर्गत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको एक करोड ५० लाख रुपैया फ्रिज भएको विषयमा केही दिनदेखि सांसद राइ र मेयर राणाका बीचमा जुहारी चलिरहेको छ । सांसद राइले मेयरका कारण रकम फ्रिज भएको बताइरहदा मेयर राणाले सांसद राइकै कारण रकम फ्रिज भएको दावी गर्नु भएको छ ।
मेयर राणाले सांसद राइले एक करोड ५० लाख रुपैया सिधैं खातामा नपठाएर योजना बनाउनतिर लाग्दा फ्रिज भएको दावी गर्नुभयो । ‘समय अन्तिम थियो । यस्तो बेलामा सांसद राइले सिधैं रकम खातामा हालेको भए । फ्रिज हँुदैनथ्यो, उहाँले सामान किन्ने निर्णय गरेर दिंदा अप्ठेरो भएको हो, मेयर राणाले भन्नुभयो, योजना बनाउने निर्णय नै गलत थियो ।’
मेयर राणाले बागेश्वरीमा सटर बनाउदा हस्तक्षेप गरिएको, मन्त्री हुनु भन्दा दुई-तीन वर्ष अघिदेखि बनिरहेको बाटोमा शिलालेख राख्ने काम गरेको, एडीबीको काममा अन्तिममा कसैमार्फत उजुरी गर्न लगाएर अल्झाइएको, वृक्षारोपण गर्छु भनेर झुक्याइएको लगायत आरोप लगाउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !