महामारी, स्थानीय सरकार र नागरिक
काठमाडौं – बाँकेमा मृत्यु भएका चार जनामा कोरोना पुष्टि भइसकेको छ । तर, मृतक ४ जना कोभिड–१९ संक्रमणकै कारण मृत्यु भएको हो भन्ने यथेष्ट प्रमाणको हकमा थप अध्ययनको विषय पनि हो । बाँकेमा सब भन्दा पहिला नरैनापुर गाउँपालिका–५ का २५ वर्षका युवाको मृत्यु भएको थियो, उनी क्वारेन्टिनमा थिए । उनको मृत्यु सर्प दंशबाट भएको स्थानीवासीको दावी थियो । कतिपयले झाडा पखाला लाग्दा अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा मृत्यु भएको आशंका गरेका थिए । मृत्यु पछि उनमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो ।
यो बाँकेको अघिल्लो चरणको लकडाउन अवधिको प्रसंग हो । बाँकेको नरैनापुर नेपाली सेना, केन्द्रबाट खटिएको चिकित्सकको टोली, स्थानीय स्वस्थ्य संयन्त्रसँगै जिल्लामा परिचालित सबैखाले निकायको सक्रियतामा नियन्त्रणमा आएको थियो ।
बाँकेमा बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भयो उनमा कोरोना संक्रमण थियो । उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का ६२ वर्षीय एक पुरुषको गत मंगलबार मृत्यु भयो ।
बैशाख र जेठ महिनामा जिल्लाको ग्रामीण भेग नरैनापुर र नेपालगञ्ज नगरमा कोरोना संक्रमण बढेसँगै बाँके उच्च जोखिममा रहेको थियो । तर त्यही अवधिमा स्थानीय प्रशासनले सतर्कता अपनाउन नसकेको भन्दै तत्कालिन सिडिओ कुमारबहादुर खड्काको बाँकेबाट सरुवा भयो ।
यति बेला बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङ मास्क लगाउँ भन्ने अभियान र सवारी साधनमा जोर विजोर नियम लागु गराउन लागिपरेका देखिन्छन् । सामाजिक सञ्जालमा निरन्तर अपडेट गर्ने र गराउने सिडिओ कुरुम्वाङ बाँकेबाट प्रकाशन र प्रशारण हुने सञ्चारमाध्यमको कभरेजमा पहिलो नम्बरमा पर्ने गर्छन् । जिल्लाका विभिन्न स्थानमा जाँदा पत्रकारहरुलाई सवारीसाधनको ब्यवस्था मिलाएर साथै लैजान्छन् । कोभिड–१९ नियन्त्रण र स्थानीय शान्ति सुरक्षाको जिम्मेमवारी सम्हालेका सिडिओ कुरुम्वाङले नदिजन्य पदार्थ र प्राकृतिक श्रोतको संरक्षणमा खटिएको देखाउँदै गर्दा कोरोना नियन्त्रणका कामहरु केही सुस्ताए ।
स्याङ्जाबाट बाँके, नेपालगञ्ज पुगे लगत्तै निषेधाज्ञा लगाएका सिडिओ कुरुम्वाङले तस्करी नियन्त्रण र सीमा समस्याबारे स्थानीय एक टेलिभिजन बागेश्वरी टिभीमा अन्तर्वार्ता दिंदा आफु कानुन लागु गर्न कुनै कसर नछाड्ने भन्दै जनप्रतिनिधिहरु गैरजिम्मेवार भएको आरोप लगाएका थिए ।
तर स्थानीय ब्यवसायी र नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर जबराको निषेधाज्ञाका विषयमा असहमति रहेको बुझेपछि सिडिओ कुरुम्वाङले आफ्नो निर्णय फिर्ता लिएका थिए ।
पछिल्ला केही हप्ता नेपालगञ्ज फेरी संक्रमणको चपेटामा पुग्यो । भारतीय सीमा रुपैडीया नाकाबाट देश फर्किने नेपालीको संख्याका कारण संक्रमण बढेको विषयमा स्थानीय सञ्चार माध्यममा समाचार आउने गरेका छन् ।
स्थानीय प्रशासन र स्थानीय तहसँगै स्वास्थ्यसँग सम्बद्ध निकायले पीसीआर परिक्षणको दायरा, आइसोलेसन र क्वारेन्टिनको अवस्थाबारे पर्याप्त ध्यान दिन नसकेको विषय सर्वसाधारणको गुनासो सामाजिक सञ्जालमा ब्यक्त भइरहेका देखिन्छन् ।
कोभिड–१९ समुदाय स्तरमा फैलिएको अवस्थामा पीसीआर परीक्षण सरकारी कार्यालय केन्द्रित मात्रै भएको जनगुनासो पनि छ, बाँकेमा ।
मलाई यति नै बेला स्वीडेनको अवस्थाबारे अन्तराष्ट्रिय सञ्चारमाध्यममा आएका कुराबारे केही लेख्न मन लाग्योस सरुवा रोग विशेषज्ञ एन्डर्स टेन्गेलले भन्छन्, ‘मुखमा मास्क लगाउदा त्यसले खेल नै परिवर्तन गर्छ भन्ने विश्वास गर्नु धेरै नै खतरनाक हुन्छ । यदि हामी कोभिड–१९ को सन्दर्भमा यो मान्यता राख्छौँ भने ।’ टेन्गेल तिनै विशेषज्ञ हुन्, जसले अरुको भन्दा भिन्न ढंगले निर्णय गरेका कारण स्वीडेनले अपेक्षित आर्थिक र मानवीय क्षति बेहोर्नु परेन ।
उनी शुरुदेखि नै लकडाउन र मास्कको प्रयोग अनिवार्य गर्ने विश्वका अन्य मुलुकहरुको नीति र निर्देशनको विपक्षमा रहँदै आएका छन् । त्यसैले उनी भन्छन्, ‘मास्क त्यो बेला थप सहयोगी हुन सक्छ यदि अरु सबैकुरा ठिकठाक र सुरक्षित छ भने मात्र ।’
देशभरी र कोभिड ’हटस्पट’ बाँकेमा कोभिड १९ नियन्त्रणका विषयमा स्थानीय स्तरबाट भइरहेका प्रयासले मात्रै सहज रुपमा निकास दिन नसक्ने अवस्था आइसकेको छ ।
बाँकेमा कोभिड–१९का लागी भइरहेका प्रयासमा स्वास्थ्य सम्बद्ध निकायसँगै ऐन कानुन कार्यान्वयन गर्ने भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको भूमिका महत्वपूर्ण रहन्छ । साथै नागरिक पनि यो महामारीबाट बच्ने उपाय अवलम्वन गर्न जिम्मेवार बन्नु पर्छ ।
राज्य संयन्त्रले कोभिड–१९ नियण्त्रण गर्न गरेका प्रयासहरु पर्याप्त छैनन् । लकडाउन र निषेधाज्ञाले कोभिड–१९ नियण्त्रणका नाममा गरिव नागरिकको दैनिकी कष्टकर हुँदै गइरहेको तर्फ पनि ध्यान जान जरुरी छ ।
बाँके जिल्लाको पछिल्लो अवस्था र देशको सम्पूर्ण अवस्थालाई केलाउँदा कोभिड–१९को संक्रमण भन्दा साँझ र विहानको चुल्हो बाल्ने समस्या ठूलो बन्दै गइरहेको छ । जिल्लामा अहिलेसम्म ८ सय २१ जना संक्रमित भएका छन् । त्यसमा ६ सय १४ जना डिस्चार्ज भइसकेका छन् । दुई सय तीन जना उपचारमा छन् । संघीय सरकारले स्थानीय प्रशासन र स्थानीय तहलाई परिस्थितिजन्य निर्णय लिन भनेको अवस्था छ ।
वास्तवमा सरकार, सरकारका विभिन्न स्वास्थ्य संयन्त्र, जिल्ला तह अनि स्थानीय तहको प्रयासमा अब कोभिड–१९ नियण्त्रणमा आउँछ भन्ने विश्वास कमजोर हुँदै गइरहेको अवस्था छ । नागरिक स्वयंले स्वस्थ्य सुरक्षाका उपाय अलम्बन गर्नु पर्ने अवस्थामा आइपुगेको छ, देश ।