क्रसर उद्योगले स्टक माल बेच्न पाउने
नेपालगञ्ज – बाँकेमा रहेका क्रसर उद्योगहरुले स्टक माल बेच्न पाउने भएका छन् ।
गौरवका आयोजनाहरुमा नदीजन्य पदार्थको हाहाकार भएको बताइएपछि जिल्लाका अधिकारीहरुले क्रसर उद्योगले जम्मा गरेर राखेका माल बेच्न दिने निर्णय गरेका हुन् । स्टक माल बेच्दा क्रसर उद्योगहरुले निश्चित मापदण्ड पूरा गर्नु पर्नेछ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, क्रसर उद्योगले स्टक माल प्रमाणित गर्नु पर्छ । राजश्व तिरेर बिक्री वितरण गर्नुपर्छ । जिल्लाभित्र मात्रै बेच्न पाइन्छ । संघ र प्रदेशका गौरवका आयोजनालाई प्राथमिकतामा राख्नु पर्छ । त्यसका लागि सम्बन्धित कार्यालयको सिफारिस अनिवार्य चाहिन्छ ।
बाँकेका धेरै क्रसर उद्योग मापदण्ड विपरित रहेको पाइएपछि विद्युत काटिएको छ । मापदण्ड पूरा नहुँदासम्म विद्युत नजोडिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । ‘नयाँ कुट्न पाउँदैनन्, स्टक माल हामीले बनाएको मापदण्ड अनुसार बेच्न सक्छन्, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो ।
क्रसर उद्योग सञ्चालनमा संघको निर्णय मान्ने कि प्रदेशको भन्ने अन्यौलता रहेको छ । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले प्रदेशले ६ महिना र केन्द्रले एक वर्षभित्र मापदण्ड पूरा गर्नुपर्ने कार्यविधि बनाएको उल्लेख गर्नुभयो । ‘हामीले प्रदेश कि केन्द्रको कार्यविधिलाई मान्ने ? जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले भन्नुभयो, पत्र पठाएका छौं । जसको मान्नु भनेर पत्र आउँछ, उसैको मान्छौं ।’