फोरलेनमा माटो पटान

नेपालगञ्ज – सडकको बीचमा खाल्टो परेको थियो । केही दिनमा माटो पटान गरियो । त्यसको केही दिनमा ग्राभेल भएछ । अहिले ग्राभेलकै अवस्थामा छ ।
तपाईले भन्नु होला, खाल्टो परेको रहेछ । माटो पटान र ग्राभेल हालिएछ रामै्र त भयो । हुन पनि भित्री गल्लीमा यत्ति छिटो खाल्टो सडकलाई टालटुल गर्ने काम गरिएको भए राम्रै हुन्थ्यो । यहाँ त कुरा फोरलेन सडकको प¥यो । फोरलेनमा माटोपटान पटक्कै सुहाएन । सुन्दा पनि धेरैले दाँत देखाउन सक्छन् ।
तर, ध्यान जाने कसको, यस्ता सानो काममा मेयर, उपमेयरले हेरेर साध्य लाग्ने कुरै भएन । उहाँहरुले ठूल्ठूला विकास योजनाका काममा दिमाग खियाउनु पर्छ । सडक रफ्फु गर्ने काम त अरुले गर्नु प¥यो नि, फेरि यो त्यही ठाउँ हो, जहाँ पटक–पटक रफ्फु गरिन्छ, जिन्स पाइन्टमा कपडाको टालो हालेकोजसरी ।


सुर्खेतरोडको वीपीचोक नजिक, अझ ठ्याक्कै भन्नु पर्दा गुरुद्वारा अगाडि बेलाबेलामा यस्तो विकासको नमूना नै देख्न पाइन्छ । चमत्कारै भन्दा पनि हुन्छ, जहाँ रातारात पिच सडकमा माटोपटान गरेर विकास गरिन्छ ।
फोरलेन सडकमा बेलाबेलामा भ्वाङ पर्दा यस्तो नमूनाधारी विकास गर्ने गरिएको छ । बाफ् रे, फोरलेनमा माटो पटान । कहिले त त्यही फोरलेन सडकको बीचमा रुख रोपिन्छ अनि सावधानीको बोर्ड लगाइन्छ । यत्रो सावधानीको बोर्ड लगाउदा पनि एकपटक यात्रुवाहक माइक्रोबस त्यही खाल्टोमा परेर ठूलो क्षति हुनबाट बचेको थियो ।


गुरुद्वारा अगाडि यत्रो विकासको काम हुँदा ५० मिटरजति पर कर्णाली विकास बैंक अगाडि भने कसैको ध्यान नै नजादो रहेछ । सायद, सिजन कटिहाल्यो, फोरलेनमा कसले धान रोप्ला र भन्ने होला । किनकी सिजन हुँदो हो त त्यहाँ धान रोप्न मिल्थ्यो । त्यहाँ रहेको सडकको दुर्गति अनि बनेका साना साना पोखरीले विकासप्रेमीहरुलाई गिज्याइरहेको छ । अनि, त्यहाँ भएर हिड्ने हरेकलाई भन्छ, सम्हालेर हिड है, दशा लागेको बेला जे पनि हुन सक्छ । त्यति सानो भटमासको गेडाले लागेर त मान्छे मर्छ भन्ने उखान छ, यहाँ त यत्रो पोखरी र खाल्टाखुटी छन् ।


खासमा सुर्खेतरोडको वीपीचोकदेखि धम्बोझीसम्मको यो समस्यालाई किन समाधान गरिदैन । अरुतिर पनि यस्तो समस्या होला । तर, धेरै यही खण्डमा समस्या देखिएको छ । स्थायी समाधानका लागि किन पहल गरिदैन ? उपमहानगरपालिकाले सडक र सडकले खानेपानीलाई दोष लगाएर समाधान हुन्छ त ? बीच सडकमा परेको पाइप फुटिरहन्छ । अरे, पटक–पटक मर्मत गरिरहनु पर्ने, एकपटक सडक खन्दा पाइपको स्थायी व्यवस्थापन गर्न किन सकिदैन ? त्यसमा पनि पप्पु सरले आँखामा छारो हाल्ने सडक बनाइदिएका छन् । सद्दे नै हुँदा पनि चल्ती गाडीबाट मान्छे खस्लाजस्तो हुन्छ, त्यसमा पटक–पटक माटो र ग्राभेलले रफ्फु गर्दा हविगत के होला ? लौन, विकासप्रेमी अधिकारीहरु यसबारेमा केही त सोचौं । सडकमै माछा पालन गर्ने भएपनि पालौ, ठेक्का प्रक्रियामा जाम । आखिर आफ्नै मान्छेलाई ठेक्का दिने हो, क्यारे । ठेक्का त ठेक्का नै हो । दुई चार पैसा आइहाल्ला ।


error: यो सुविधा उपलब्ध छैन !