५ किलो ८ सय ग्रामको बच्चा जन्मियो

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा दैलेखकी ३८ वर्षीया धना मगरले ५ किलो ८ सय ग्राम तौलको बच्चा जन्माउनु भएको छ ।
भेरीका स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापा, डा. युवराज कार्कीसहितको टोलीले शल्यक्रिया गरेर बच्चा निकालेका थिए । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको डा. थापाले बताउनुभयो । गएको शुक्रबार धनाले छोरा जन्माउनु भएको हो ।
‘भेरीमा यति धेरै तौलको बच्चा पहिलो पटक देखे डा. थापाले भन्नुभयो, ‘झन् आफ्नै नेतृत्वको टीमले शल्यक्रिया गरेर बच्चालाई जन्मदिंदा खुशी लागेको छ ।’ सामान्यतया बच्चा ठूलो हुँदा आमाको स्वास्थ्य अवस्था जोखिममा हुने डा. थापाले बताउनुभयो ।
‘ठूलो बच्चा पेटमा हुँदा पनि आमालाई जोखिम हुन्छ डा. थापाले भन्नुभयो, ‘शल्यक्रियामार्फत सुत्केरी गराउँदा पनि रक्तश्रावको जोखिम हुन्छ । तर धनामा कुनै समस्या देखिएन ।’ चौथो सन्तानका रुपमा धनाले सामान्यभन्दा धेरै तौल भएको बच्चाको जन्म दिनुभएको हो ।
यसअघि जन्मिएका छोरोका समेत तौल चार किलोमाथी रहेको धनाका श्रीमान ललित मगरले बताउनुभयो । भेरी अस्पताल, नेपालगञ्जका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. युवराज कार्की स्वास्थ्य शिविरको सिलसिलामा राकम पुगेका बेला धनाको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो । पेटको बच्चा ठूलो भएको भेउ पाएपछि डा. कार्कीले नियमित चिकित्सकको सम्पर्कमा रहन आग्रह गर्नुभएको थियो । धना डा.कार्कीसँग नियमित फ्लोअपमा हुनुहुन्थ्यो ।
सामान्यतया बच्चा ठूलो हुनुमा बाबुआमाको तौल र हाइटले समेत प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । यद्यपी मधुमेहलगायतका समस्याका कारण पनि बच्चाको तौल बढी हुनसक्ने चिकित्सकहरुको भनाइ छ । ठूलो बच्चामा सुगरको मात्रा कम हुने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । भेरी अस्पताल, नेपालगञ्जका बालरोग विशेषज्ञ डा. विष्णु थापाले ठूला बच्चामा सुगरको मात्रा कम हुने भएकाले ख्याल गर्नुपर्ने र बच्चा ठूलो भएका कारण चाडैचाडै भोकाउने हुँदा आमाले पटकपटक दुध चुसाइरहनु पर्ने सुझाव दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !