लक्षण देखिएकालाई घर पठाउदा परीक्षण
नेपालगञ्ज – कोरोना संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेपछि रिचेक नगरी घर पठाउने रणनीतिमा केही परिवर्तन गरिएको छ ।
लक्षण देखिएका कोरोना संक्रमितलाई १४ दिनको साटो १७ दिन राख्ने र घर पठाउदा पीसीआर जाँच गर्ने व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले टेष्ट गाइडलाइनमा लक्षण देखिएका बिरामीलाई १७ दिन राख्ने र घर पठाउदा पीसीआर गरिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
बाँकेमा लक्षण देखिएका २८ जना बिरामी छन् । लक्षण देखिएका बिरामीहरु १७ दिन आइसोलेसन अस्पतालमा बस्दा निको भइसक्छन् । निको भइसकेपनि यस्तालाई घरमा पठाउदा पीसीआर गर्ने व्यवस्था गरिएको हो ।
लक्षण नदेखिएको हकमा १४ दिन राखेर रिचेक नगरी घर पठाउने गरिएको छ । बाँकेको आइसोलेसन सेन्टरमा २ सय ४९ जना संक्रमित रहेका छन् ।