रामजानकी मन्दिरको पुनर्निर्माण थालियो

नेपालगञ्ज – बाँके डुडुवा गाउँपालिका वार्ड नं. २, उचुवा बाबा कुटीस्थित जीर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनर्निर्माण तथा मर्मत सम्भारको कार्य शुरु गरिएको छ । करिब डेढ सय वर्ष पुरानो ऐतिहासिक मन्दिरको समयमा भौतिक संरचनालाई मर्मत नगरिएपछि जीर्ण भएको थियो ।
गाउँपालिकाभित्र रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले सो मन्दिरको पुनर्निर्माण शुरु गरिएको हो । बुधबार शुभमुर्हुतमा सो मन्दिर भवनको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले शिलान्यास गर्नुभयो । उहाँले मन्दिरको शिलान्यास गर्दै गाउँपालिकाभित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक पुराना संरचनाहरुलाई पुनर्निर्माण तथा मर्मत सम्भार गर्न स्थानीय सरकारको जिम्मेवारी अनुरुप पुनर्निर्माणको कार्य शुरु गरिएको बताउनुभयो । अध्यक्ष चौधरीले यस्ता धार्मिक केन्द्रहरुको संरक्षण र सम्बद्र्धन गरि पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बजेटको अभावमा सोचे जति गर्न नसकेपनि थोरै बजेटबाट शुरुवात गरेको बताउनुभयो ।
रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित राम, सीता, लक्ष्मण, गणेश, हनुमान, शालीग्रामको ऐतिहासिक मूर्ति रहेको छ । मन्दिरमा भजन किर्तन कोठा, परिक्रमा, गर्भ गिरी, स्टोर कोठाको पुनर्निर्माण शुरु गरिएको छ । बाउण्ड्रीसहित मन्दिर निर्माणका लागि करिब एक करोड लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणमा १५ लाखबाट निर्माण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताउनुभयो ।
करिब ५ कठठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा ६ मा १४ विगाह पक्का खेतीयोग्य जमिन समेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताउनुभयो । मन्दिरमा दशै, रामनवमी, कृष्णा जन्मअष्टमीलगायत अवसरमा भजन किर्तन, भण्डारा र मेला लाग्ने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !