चोर–पुलिस सँगसँगै खुल्ला कारागारमा
नेपालगञ्ज – नेपालगञ्जको बन्द कारागारमा रहदा कोरोना देखिएका सात जना कैदीलाई गनापुरस्थित बन्दै गरेको खुल्ला कारागारमा लैजाने तयारी भएको छ । कैदीसँगै कोरोना संक्रमित वडा प्रहरी कार्यालय, नेपालगञ्जका ६ जना प्रहरीलाई पनि गनापुर लगिदैछ ।
कोरोना देखिएका कैदी र प्रहरीले एक रात भने खजुरास्थित कृषि तालिम केन्द्रमा बिताएका छन् । मंगलबार कोरोना देखिएपछि कैदी र प्रहरीलाई कृषि तालिम केन्द्रमा लगिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आज साँझसम्ममा कैदी र प्रहरी दुवैलाई गनापुरस्थित खुल्ला कारागारमा लगिने जानकारी दिनुभयो ।
कैदीलाई कृषि तालिम केन्द्र खजुरामा राख्दा सुरक्षा चुनौती देखिएपछि उनीहरुलाई गनापुरस्थित खुल्ला कारागारमा लैजान थालिएको हो । गनापुरमा सुध्रिएका कैदीलाई राख्नका लागि खुल्ला कारागार बनिरहेको छ । अहिलेसम्म चार वटा भान्छासहित ३६ वटा कोठा बनिसकेको छ । कैदीलाई गनापुरमा राख्नका लागि प्रमुख जिल्ला अधिकारीको टोलीले नौबस्ताको निरीक्षण गरिसकेको छ । नौबस्तामा क्षेत्रीय कारागार बन्दैछ ।
यता, नेपालगञ्जस्थित कारागारलाई आइसोलेसन सेन्टरमा परिणत गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिनुभयो । ‘त्यहाँ भित्र कोही जादैन, भित्रको बाहिरासँग सम्पर्क हुँदैन, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, लक्षण देखिएका बिरामीलाई तत्काल बाहिर राखेर परीक्षण र जाँच गरिन्छ ।’ नेपालगञ्ज कारागारमा सात सय बढी बन्दी रहेका छन् ।