यस्तो देखियो तीन दिने निषेधाज्ञा

नेपालगञ्ज – बाँकेमा आइतबारदेखि फेरि निषेधाज्ञा जारी गरिएको छ । लामो समयको लकडाउन खुलेको दुई हप्ता नपुग्दै बाँकेमा निषेधाज्ञा जारी गर्नु पर्ने अवस्था आएको छ ।
कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि तीन दिन निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
सधैं भीडभाड हुने त्रिभुवनचोकमा एकैपटक धेरैजनामा कोरोना देखिएपछि स्थानीय प्रशासन झस्किएको हो । त्यसो त नेपालगञ्जमा शुरुमा बैशाख १९ गते कोरोना देखिएको पनि त्रिभुवनचोक नजिकको जोलाहनपुरुवामा थियो ।
बाँकेमा मिठाई पसलमा काम गर्ने, कामको खोजीमा निस्किने, सेवाग्राहीको चाप रहने आन्तरिक राजश्व, यातायात र अदालतका कर्मचारीलाई कोरोना देखिएको छ । यस्तो देखिनु भनेको समुदायमा कोरोना पुग्नु हो भन्ने निष्कर्ष निकालेर स्थानीय प्रशासनले तीन दिन निषेधाज्ञा जारी गरेको छ भने केही दिनदेखि मास्क लगाउनमा कडाई गरेको छ । प्रहरी प्रशासनका अधिकारीहरु आफै सडकमा पुगेर मास्क वितरण गरेका छन् ।
निषेधाज्ञाले गर्दा सडकमा फाटफुट मानिस हिडेको देखिन्छ । सडकमा प्रहरीको उपस्थिति बढेको छ । प्रहरीले सडकमा निस्केका व्यक्तिलाई सोधपुछ गरिरहेको छ । मास्क लगाएका र अत्यावश्यक काम भएकालाई जान दिएको छ ।
बाँकेमा ४ सय ३७ जना कोरोना संक्रमित भएकोमा ३ सय ८७ जना निको भएर घर गइसकेका छन् । बाहिर जिल्लाबाट आएका नौ जना कर्मचारी कोरोना संक्रमित छन् । हाल ४८ जना जिल्लावासी र नौ जना बाहिरी जिल्लाका संक्रमित आइसोलेसन सेन्टरमा छन् ।


error: यो सुविधा उपलब्ध छैन !