बोलाई–बोलाई ‘पीसीआर’
नेपालगञ्ज – नेपालगञ्जको त्रिभुवनचोक । विहान मजदुरको ठूलो संख्या जम्मा हुने गर्दछ । त्यही मजदुरलाई लक्षित गरेर बिहीबार पीसीआर जाँचका लागि स्वाव संकलन गरिएको छ ।
कसौधन बैश्य समाज र रेडक्रसको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले मजदुरलाई लक्षित गरेर स्वाव संकलन गरेको थियो । ठूलो संख्यामा जम्मा भएका मजदुरमध्ये ‘केही’ले स्वाव दिएका छन् । केही भने स्वाव दिनतिर नलागेर काम लगाउने मान्छे आउँछ कि भनेर हेरिरहेका थिए ।
कसौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले माइकमा पीसीआर जाँचका लागि बोलाइरहेका थिए । ‘बाहिर जाँच गर्दा साढे पाँच हजार लाग्छ, अहिले निशुल्क जाँच गर्नुस्’ अधिकारीहरुले मजदुरलाई भनिरहेका थिए ।
नेपालगञ्जमा ‘पहुँचवाला’को मात्रै पीसीआर जाँच भएको गुनासो गरिएपछि जिल्ला स्वास्थ्य कार्यालयले मजदुरलाई लक्षित गरेर स्वाव संकलन गरेको थियो । स्वाव संकलनस्थलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ पनि देखिएका थिए ।
कामका लागि विहान चोकमा जम्मा हुने मजदुरसँगै आसपासका दोकान र घरमा बस्नेहरुले स्वाव दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ३ सय ६५ जनाको नाम दर्ता गरेकोमा १ सय ३० जनाको स्वाव लिइएको जानकारी दिनुभयो ।
बाँकेमा दश हजारबढीको पीसीआर जाँच गरिसकिएको छ । नौ हजार बढीको आरडीटी जाँच गरिएको छ । ३ सय ९६ जना संक्रमित भएका छन् । निको हुन बाँकी २४ जना रहेका छन् ।