सदाबहार धम्बोझी क्लव

नेपालगञ्ज – २०७६ असार १ गते प्रहरी तालिम केन्द्र, नेपालगञ्जमा भएको जिल्ला लिग फुटबलको फाइनलमा धम्बोझी क्लवले मोडेल टीम, सीगाउँलाई पाखा लगाएर उपाधी जित्यो । धम्बोझीका विशाल थापा र व्यापकराज शाहीले गरेको गोलले टीमलाई मेडलसहित २१ हजारको प्रथम पुरस्कार हात लाग्यो ।
११ वटा क्लवले भाग लिएको प्रतियोगिताको उपाधी धम्बोझीले उचालेपछि धेरैको मुखबाट सुनियो, सदाबहार धम्बोझी क्लव । कतिपयले भन्दै थिए, धम्बोझी क्लव लयमा फर्कियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष एवं धम्बोझी क्लवका पूर्वअध्यक्षका प्रमोद रिजाल, वर्तमान अध्यक्ष देवेन्द्र खड्का, टीम व्यवस्थापन गरेका भद्रबहादुर थापा, रविन्द्र श्रेष्ठको अनुहार हँसिलो देखिन्थ्यो । सबै खुशी थिए । किनकी, यी व्यक्ति धम्बोझी क्लवलाई यहाँसम्म ल्याई पु¥याउन योगदान दिनेमध्येमा पर्छन् । अहिले ओशोनिक क्लव हेरिरहेपनि बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अनुहार पनि धम्बोझीले उपाधी जित्दा उज्यालो नै देखिन्थ्यो । यो क्लवमा शाहीको लगानी पनि रहेको छ ।
जिल्ला लिग जितेपछि धम्बोझीले प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता खेल्न पायो । २०७६ भदौ १२ गते धम्बोझी क्लवले अर्को खुशीयाली थपिदियो, मुख्यमन्त्री कप जितेर । पाँच लाख पुरस्कारको मुख्यमन्त्री कप जितेपछि सदाबहार धम्बोझी क्लवको चर्चा चुलियो । सधैं चर्चामा आइरहने धम्बोझी क्लवले लगातार दुई ठूला उपाधी उचालेर जिल्लाकै सान बढाइदियो । त्यसैले त मुख्यमन्त्री कप जितेर जिल्ला आउदा भब्य स्वागत गरियो । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर सुनिलसिंह हमालको उपस्थितिमा विजयी टोलीलाई बाजागाजाले स्वागत मात्रै गरिएन, नगर नै घुमाइयो । धम्बोझी क्लवका अध्यक्ष खड्का भन्दै हुनुहुन्थ्यो, ‘क्लवको मात्रै होइन, जिल्लाको गौरव बढ्यो । यो जिल्लावासीको जीत हो ।’
धम्बोझी क्लव र खेलकुद एक अर्काका परिपुरक हुन् भन्दा हुन्छ । यो क्लव जन्मिदा खेलकुदमात्रै होइन, सामाजिक काममा पनि अगाडि थियो । शुरुमा अर्को नाम भएपनि २०४८ सालमा राजेन्द्र श्रेष्ठ अध्यक्ष रहदा धम्बोझी क्लव नामाकरण गरिएको थियो । धम्बोझी क्लवले डम्बर थापा, प्रमोद रिजाल हुँदै देवेन्द्र खड्कासम्म अध्यक्ष पाएको छ । पूर्वअध्यक्ष रिजाल भन्नुहुन्छ, धम्बोझी क्लवले खेलकुदका साथै सडक व्यवस्थापन, सांस्कृतिक प्रतियोगिता, जनचेतनामूलक गतिविधिहरु, घरेलु मदिरा नष्ट, सार्वजनिक सम्पतिको संरक्षण, लागु औषधीविरुद्धका अभियानहरु सञ्चालन गरेको थियो । क्लवले गुल्म अगाडिको सडक विस्तारका क्रममा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतलाई ल्याएको धेरैले भुलेका छैनन् ।
क्लवले बक्सिङ, क्रिकेट, बास्केटबल, सफ्ट टेनिस, भलिबल, सुटिङ, बडी बिल्डिङलगायत सबैजसो खेलमा भाग लिन्थ्यो । तर, विशेष त फुटबल नै थियो । धम्बोझी क्लवलाई सदाबहार त्यसै भनिएको होइन, फुटबलमा धम्बोझीसँग पर्दा नझस्किने सायदै कोही थिए होलान् । धम्बोझी फुटबलको त बाघ नै थियो । जिल्लामा हुने प्रायः खेलमा फाइनलमा देखिने धम्बोझी नै थियो । धम्बोझीको दबदबा लामो समयसम्म रह्यो । धम्बोझी क्लवका अध्यक्ष खड्का भन्नुहुन्छ, ‘क्लवस्तरीय प्रतियोगिता त धम्बोझीले कति जित्यो, जित्यो, हिसाव नै राखिएको छैन ।’
धम्बोझी क्लवले धेरै राष्ट्रिय खेलाडी जन्माएको छ । धम्बोझी खेलकुदको ‘हब’ बन्दा क्लवको योगदान उल्लेख्नीय रहेको छ ।
(वडा नं. १ ले हालै प्रकाशन गरेको धम्बोझी नामक पुस्तकबाट साभार)


error: यो सुविधा उपलब्ध छैन !