नेपालगञ्ज चिनाउने ‘वाटरपार्क’

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा पाँच दशक भन्दा लामो समयदेखि बस्दै आउनुभएका वडा सदस्य डम्बर थापाका अनुसार बर्षो अघिदेखि यो ठाउँमा ताल थियो । सुरुमा स्थानीयले यसको नामाकरण गरेका थिएनन् । स्थानीयले तालमा नुहाउने र कपडा धुने गर्थे ।
वडा सदस्य थापाले भन्नुभयो, ‘नेपालगञ्जका धोवी समुदायले यहि तालमा कपडा पनि धुने गर्थे, विगतमा नगरका सबैतिरबाट मानिसहरु यहाँ आउने र रमाउने गर्दथे । ताल छेउछाउ ईट्टाभट्टाका लागि माटो निकाल्न थालियो । ठूलो ताल भएपनि यसको संरक्षणका लागि लामो समय कुर्नुप¥यो ।’
२०५४ सालमा नेपालगञ्ज नगरपालिकामा डा. धवलशमशेर राणा र वडा नम्बर १ मा डम्बर थापा वडा अध्यक्षको रुपमा निर्वाचित भएपछि तालको संरक्षण गरियो । तत्कालिन समयमा तालको बीच भागमा फोहरा बनाइएको थियो । स्थानीय घरधनीको ३ मिटर र तालको ३ मिटर जग्गा ओगटेर ताल वरिपरि ६ मिटरको फराकिलो सडक निर्माण गरिएको छ । चारैतिर ग्रिनबेल्ड छुट्टाएर वृक्षारोपण गरियो । बचेका केही रुख ताल छेउछाउ अहिले शितलता दिने भइसकेका छन् । तालमा बोटिङसँगै माछापालनका लागि ठेक्का दिइएको थियो । तर स्थानीय निकायको कार्यकाल सकिएपछि ताल संरक्षण हुन सकेन । ताल जीर्ण अवस्थामा पुग्यो । अहिले स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि ताललाई आकर्षक र मनमोहक बनाइएको छ । ताल सौन्दर्यकरणको कार्य अन्तिम चरणमा पुगेको छ । संयोगले डा. राणा नगरप्रमुख र प्रमोद रिजाल वडा अध्यक्ष भएको अवस्थामा तालले पुनर्जीवन पाएको छ । उपप्रमुख उमा थापामगर समेत धम्बोझीकै हुनुहुन्छ ।
वडा अध्यक्ष रिजालले वाटरपार्कलाई पश्चिम नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरि निर्माण कार्य थालिएको जानकारी दिनुभयो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको चार करोड ४६ लाखमा तालको पुनर्निर्माणको काम भएको हो । यसैगरी उपभोक्ता समितिमार्फत करिब ६४ लाखमा अन्तिमचरणको निर्माण कार्य अहिले भइरहेको छ । उपभोक्ता समितिमार्फत तालको सरसफाई गरि अन्तिम चरणको निर्माण कार्य हुँदैछ । वडा अध्यक्ष रिजालले भन्नुभयो, ‘यो तालले वडा नम्बर १ र १८ को कायापलट गर्ने बिश्वास छ ।’
तालमा माछापालनसँगै बोटिङ सञ्चालन गरिने भएको छ । यसको चारैतिर ग्रिन बेल्टको रुपमा रहनेछ । फुटपाथ समेत हुनेछ । ताल वरिपरिको ६ मिटर सडक कालोपत्रे गरिने भएको छ । हाईमाष्ट समेत जडान गर्न लागिएको छ । शौचालय, बाथरुम र गार्डहाउस, फुटपाथ र ट्रष्ट निर्माण गरिदैछ । तालको निर्माण कार्य पुरा नहुँदै जिल्लाका विभिन्न स्थानबाट मानिसहरु आएर रमाउने गरेका छन् । करिब ११ विघा क्षेत्रफलमा फैलिएको वाटरपार्क सञ्चालनका लागि उपमहानगरपालिकाले टेण्डर समेत आव्हान गरिसकेको अवस्था छ ।
तालको निर्माण कार्य चलिरहँदा पुग्नुभएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले वाटरपार्क ताल रमणीय रहेको भन्दै यसले नेपालगञ्जलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ । ‘आगामी दिनमा यसको थप सौन्दर्यकरणका लागि मन्त्रालयबाट सहयोग गर्न मन्त्रालय तयार छ, मन्त्री भट्टराईले भन्नुभयो, ‘शहरभित्र भएको ठूलो ताललाई पर्यटकीय स्थलका रुपमा विकास गरेर स्थानीय तहले उदाहरणीय कार्य गरेको छ ।’
(वडा नं. १ ले प्रकाशन गरेको ‘धम्बोझी’ नामक पुस्तकबाट साभार)


error: यो सुविधा उपलब्ध छैन !