खजुराले देखायो गरेका कामहरु

खजुरा – बाँकेको खजुरा गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाई गरेको छ ।
चालू आर्थिक वर्ष २०७६÷०७७ मा पालिकाले सम्पादन गरेका कार्यहरु सार्वजनिक गर्दै जनअनुमोदन गर्न सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा खजुराबासीले फेरी पनि चासोपूर्वक भाग लिएका छन् ।
खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे आयोजित सार्वजनिक सुनुवाईमा भाग लिँदै गाउँपालिकाबाट प्रवाह हुने सेवाबारे खजुराका विभिन्न वडाबाट सहभागीले खुलेर प्रश्न जिज्ञासा राखेका थिए । उनीहरुले सडकमा खाल्डाखुल्टी, कोरोना प्रभावमा राहत, कृषिमा किसान केन्द्रित कार्यक्रम नभएको, कोभिडमा भएको खर्चबारे प्रश्न राखेका थिए ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका, विभिन्न विषयगत शाखाले गरेका कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सो क्रममा प्रमुख कक्षपतिले खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र कार्यप्रगतिबारे गाउँपालिकाको वेभसाइटमा राखिने गरेको जानकारी दिनुभयो । विभिन्न सम्पन्न भएका योजना, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा भएका प्रगतिबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।
८ वटै वडाबाट आएका सहभागीले उठाएको प्रश्नको गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।
चालू आर्थिक वर्षमा गाउँपालिकाले गरेका विभिन्न गतिविधि, आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कक्षपतिले विषयगत शाखाहरुले गरिरहेको कार्यप्रगतिका साथै वडाहरुमा भइरहेको विकास निर्माणमा कोरोनाले प्रभावित भएको बताउनुभयो ।
खजुरामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ अगाडि बढिरहेको, विकास निर्माणमा गत आर्थिक वर्षमा १८ किलोमिटर सडक कालोपत्रे गरेकोमा यो वर्ष पनि वडा नं. ५ देखि ८ सम्म १६ किलो मिटर र अन्य वडाहरुमा ३ किलो मिटर सडक कालोपत्रेको चरणमा रहेको जानकारी दिइएको छ ।
बहुउद्देशीय सभाहल निर्माणको प्रक्रियामा रहेको, शीतभण्डार, औद्योगिक ग्राम, खेलकूद ग्रामको काम पनि अगाडि बढेको जस्ता थुप्रै विकासका काम अगाडि बढेको प्रमुख कक्षपतिले प्रस्तुत गरेको प्रतिवेदनमा समेटिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !