एकीकृत सम्पत्ति करमा हेरफेर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कम गरेको छ । नगरप्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा असार १० गतेदेखि जारी सातौं नगरसभामा बिहीबार उपप्रमुख उमा थापा मगरले एकीकृत सम्पत्ति करमा कटौती गर्ने प्रस्ताव गर्नुभएको हो ।
उपप्रमुख मगरले यसअघि प्रस्तुत गर्नुभएको आगामी आर्थिकवर्ष २०७७-७८ को विनियोजित बजेट परिमार्जन गर्दै एक अर्ब ४९ करोड ४२ लाख १७ हजार ५ सय १० रुपियाको संशोधित बजेट प्रस्तुत गर्नुभयो । बजेटमा नगरका २३ वटा वडालाई २१ करोड रुपिया विनियोजन गरिएको छ । वडाबाट संकलन भएको राजश्वको १५ प्रतिशत सम्वद्ध वडालाई बाँडफाँड गरिएको छ । वडाको जनसंख्याको आधारमा समेत बजेट सिलिङ गरिएको छ । यसरी बजेट सिलिङ अनुसार वडा नम्बर १८ लाई सबैभन्दा बढि एक करोड ४३ लाख रुपिया र सबैभन्दा कम बजेट सिलिङ पाउने वडाले कम्तिमा ५४ लाख रुपिया प्राप्त गरेका छन् ।
नगरसभामा नगर प्रमुख डा. राणाले सन्तुलितअढंगले वडामा बजेटको सिलिङ तयार गरिएको जानकारी दिनुभयो । ‘बजेट कनिका छरेजस्तो गरि वडामा काम नगर्नुहोला, नगरप्रमुख राणाले वडाका जनप्रतिनिधिहरुलाई भन्नुभयो, देखिने गरि ठूला काम गर्नुहोस् ।’ ठूला योजनाले बजेटको सहि सदुपयोग हुने उहाँको भनाई थियो ।
नगरसभामा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मालगायतले विभिन्न सुझाव दिनुभयो । बिहीबारको नगरसभाले बजेटको सिलिङलाई सर्वसम्मत पारित गरेको छ । असार ३० गते बस्ने बैठकले वडाबाट आउने योजनासहित बजेट पारित गर्ने भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !