न्यायाधीशले गरे खजुरामा अनुगमन
खजुरा – जिल्ला न्यायाधीशसहितको एक टोलीले खजुरा गाउँपालिकाको न्यायिक समितिले गरेका काम कारबाहीको अनुगमन गरेको छ ।
जिल्ला न्यायाधीश मनकुमारी जीएम विश्वकर्मा, शाखा अधिकृत गणेश रिजालसहितको टोलीले शुक्रबार गाउँपालिकामा पुगेर न्यायिक समितिको काम कारबाहीको अनुगमन गरेको हो ।
उपप्रमुख एकमाया विकको संयोजकत्वमा रहेको न्यायिक समितिले गरेका प्रक्रियागत कुराको अनुगमन गरिएको हो । न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेकोबारे आर्थिक वर्षको अन्त्यमा अनुगमन गर्ने गरिएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिनुभयो ।
अनुगमनपछि टोलीले खजुराको न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिएको छ । खजुरामा वडा वडामा रहेको मेलमिलाप केन्द्र र पालिकामा रहेकोे न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दै आएको छ । खजुरामा चालू आर्थिक वर्षमा न्यायिक समिति र मेलमिलाप केन्द्रमा आएका १ सय बढी मुद्दामा ८० प्रतिशत बढी फैसला भइसकेको महिला विकास प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।