पाउलान् त व्यवसायीले राहत ?

नेपालगञ्ज – कोरोना (कोभिड–१९) नियन्त्रण गर्न तीन महिनादेखि निरन्तर लागु गरेको लकडाउनका कारण प्रभावित बनेका उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियत प्रभावकारी बनाउन नेपालगञ्ज उद्योग वाणिज्य संघले बिहीबार सरोकारवाला निकायसँग छलफल गरेको छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रबन्धक र उद्योगी, व्यवसायी छलफलमा सहभागी भएका थिए । उद्योगी, व्यवसायीले राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसारको ब्याज सहुलियतको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सामान्य राहत समेत नदिएको भन्दै बैंक तथा वित्तीय संस्थाको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘यत्रो महासंकट आयो । त्यसले गर्दा उद्योग, व्यवसाय प्रभावित बनेको जगजोहर नै छ तर कुनै राहत दिइएन ।’ श्रेष्ठले राहतको प्रभावकारी कार्यान्वयन र थप राहतका लागि राष्ट्र बैंकले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलगायतका पदाधिकारी एवं अन्य उद्योगी, व्यवसायीले तीन महिनाको अवधिमा कुनै पनि उद्योग, व्यवसाय नचलेका कारण ऋण तिर्न सक्ने अवस्था नरहेको दुःखेसो पोख्नुभयो ।
नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा लगायत छलफलमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाका प्रबन्धकहरुले नियम अनुसारको सहुलियत पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । थप सहुलियत दिन नीतिगत निर्णय आवश्यक पर्ने बताउँदै निर्देशक सापकोटाले भन्नुभयो, ‘यो केन्द्रीय तहको कुरा भयो । बाँकी हाम्रो तहमा भएका निर्णय कार्यान्वयन हुनेमा म ढुक्क हुन आग्रह गर्छु ।’
नेपालगञ्ज उद्योग वाणिज्य संघले ब्याजदरमा सहुलियत र अन्य राहतका कार्यक्रमको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने योजना समेत बनाइरहेको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । सोही योजना अन्र्तगत बैंक तथा वित्तीय संस्थाका प्रमुख र उद्योगी, व्यवसायीबीच छलफल आयोजना गरिएको हो । छलफलमा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्म अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, उद्योगपति कन्हैयाल बैद्य, प्रवक्ता टंकबहादुर धामी, बरिष्ठ सदस्य बसन्त लामिछाने, कार्यसमिति सदस्य टंक शर्मा, सलाउद्दिन जसगढ, भिम रानाभाट, उषा भण्डारीलगायतले बिभिन्न सुझाव दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !