कम भएकै हो त ‘पोजिटिभ केस’ ?

नेपालगञ्ज – बाँकेमा मंगलबार ८८ जनाको स्वाव परीक्षण गर्दा कोहीमा पनि कोरोना देखिएन । यी ८८ जना नरैनापुर गाउँपालिकाका थिए ।
दुई दिनअघि राप्तीसोनारी गाउँपालिकाको १ सय २६ जनाको स्वाव परीक्षण गर्दा पनि कोरोना पुष्टि भएन । भेरी अस्पतालको पीसीआर ल्याबमा जाँच गरिएका पछिल्ला यी सबै स्वाव नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भन्नुभयो, ‘बाँकेमा तीन दिनदेखि कोरोना पोजिटिभ रिपोर्ट आएको छैन । जिल्लावासीलाई खुशीको खबर ।’
बाँकेका एक सय १२ वटा क्वारेन्टाइनमा ६ हजारबाट घटेर एक हजार दुई सय ९४ जना बसिरहेका छन् । बचेका यी व्यक्तिको रिपोर्ट के हुन्छ हेर्न बाँकी छ । फोकलपर्सन श्रेष्ठले भारतको महाराष्ट्रबाट आएका धेरैमा कोरोना देखिएको बताउनुभयो । ‘शुरु शुरुमा महाराष्ट्रबाट धेरै आए । उनीहरुमा पोजिटिभ देखियो, फोकलपर्सन श्रेष्ठले भन्नुभयो, पछि भारतकै अन्यत्रबाट आएका व्यक्तिहरुमा धेरै पोजिटिभ देखिएन ।’
भारतबाट नेपाल फर्किनेको संख्या कम हुँदै गएको र क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै जादा कोरोना नियन्त्रणमा आइरहेको आकलन हुन थालेको छ । हुन त, क्वारेन्टाइनमा रहेका व्यक्तिलाई आरडीटी गर्ने र नेगेटिभ रिपोर्ट आएकालाई घर पठाउने गरिएको छ । यसो गर्दा क्वारेन्टाइन रित्तिदै गएको छ । क्वारेन्टाइनमा रहेका सबैको पीसीआर जाँच हुन सकेको छैन ।
बाँकेमा कोरोना संक्रमित ३ सय ४२ पुग्दा २ सय ६० जना डिस्चार्ज भएका छन् । दुई जनाको मृत्यु भएको छ । २ सय ८८ वटा स्वाव जाँचको प्रक्रियामा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !