राजेश यादव : नपत्याउँदा ‘किलर’ !

नेपालगञ्ज – बाँके प्रहरीले पक्राउ गरेको राजेश यादव उर्फ धर्मा सिंहले हत्या, अपहरण, फिरौती, विष्फोट गराएको खुलासा भएको छ । तत्कालिन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) मा आवद्ध यादवले बसन्त मल्लको अपहरण र हत्या, नन्ना यादवको गोली हानी हत्या गरेको प्रहरीको दावी छ ।
यादवलाई कतिपय घटनामा अदालतले कैद र जरिवाना तोकेको छ । केही घटनामा उनी फरार भनिएको छ । बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार, २०७० पुस १३ गते त्रिभुवनप्रसाद कुर्मीले दिएको अपहरण मुद्दामा अदालतले २०७१ फाल्गुन १७ गते चार वर्ष कैद र तीस हजार जरिवाना गरेको थियो ।
२०६८ चैत्र ६ गते गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विष्फोट गराएको मुद्दामा जिल्ला अदालतबात २०७२ माघ २८ गते ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको थियो । २०६८ मंसीर १४ गते भूमिसुधार कार्यालय, बाँकेमा बम विष्फोट मुद्दामा अदालतबाट २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना भएको थियो । २०६८ मंसीर १४ गते मालपोत कार्यालय, बाँकेमा बम विष्फोट गराएको घटनामा २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना भएको थियो ।
२०६८ माघ ४ गते होलियाका नन्ना यादवलाई गोली हानी हत्या गरेको, २०६५ जेठ २६ गते राजबहादुर सिंहलाई गोली हानी घाइते बनाएको, २०६६ भदौ २१ गते बसन्त मल्ललाई अपहरण गरी हत्या गरेको, २०६६ मंसीर १७ गते राकेशकुमार लोनिया हतियारसहित पक्राउ पर्दा फरार रहेको, २०६६ मंसीर १ गते राकेशकुमार लोनियासमेतको जाहेरवालालाई अपहरण गर्ने धम्की दिएको मुद्दामा यादव फरार थिए ।
बाँके प्रहरी प्रमुख एसपी ओम रानाले यादव सबै घटनामा प्रत्यक्ष संलग्न भएको बताउनुभयो । यी घटनामा यादवसँग फरक फरक व्यक्ति संलग्न भएका थिए । उनीहरुको खोजी भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !