जानकीमा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

जानकी – बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको सोमबार सम्पन्न आठौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस महामारीले अस्तव्यस्त बनाएको आर्थिक अवस्थालाई सुधार्न कृषिलाई प्राथमिकता दिइएको छ ।
कृषिमा उत्पादन वृद्धि गर्न अध्यक्ष कृषि तथा सिँचाई कार्यक्रम सञ्चालन गरी कृषियोग्य भूमिमा आधुनिक सिँचाई प्रणालीबाट सिँचाई सुविधा पुग्ने गरी पूर्वाधार निर्माण गर्ने नीति लिइएको छ ।
अध्यक्ष यादवले कोभिड–१९ का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका युवालाई व्यवसायिक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरी कृषि उपज बिक्रीका लागि छ वटै वडामा आधुनिक कृषि तथा हाटबजार स्थापना गरिने बताउनु भयो ।
गाउँपालिकामा आगामी आर्थिक वर्षमा अर्गानिक तरकारी उत्पादन तथा प्राङ्गारिक खेती प्रणालीमा जोड दिदै अध्यक्षसँग साना तथा मझौला किसान सुदृढिकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
विशेष नमूना वस्ती निर्माण गर्दै गाउँपालिकालाई नमूना कृषि र शिक्षा ग्रामिण वस्ती विकास कार्यक्रम लागु गरी शिक्षाको माध्यमबाट कृषि उत्पादनमा टेवा दिइने अध्यक्ष यादवले बताउनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा विशेषज्ञ सेवासहित २५ शैय्याको अस्पताल सञ्चालन गर्ने र सुविधायुक्त एम्वुलेन्स सञ्चालनको व्यवस्था गर्ने नीति लिएको छ ।
गाउँपालिकामा रेडक्रस सोसाइटीसँग समन्वय गरेर रक्त संकलन केन्द्र स्थापना गर्दै महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिकालाई प्रभावकारी बनाउन प्रोत्साहन भत्ता वृद्धि गर्ने र स्वास्थ्य संस्थाको भौतिक सुधार गरिने नीति तथा कार्यक्रम गाउँपालिकाले लिएको छ ।
महिला स्वास्थ्यलाई प्राथमिकता दिदैँ सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत अति विपन्न सुत्केरी महिलालाई सहयोग गर्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा विकास गर्न गाउँपालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने, सबै वडामा मावि सञ्चालन गर्ने, विद्यार्थी भर्ना भएर छोड्ने प्रवृतिलाई निरुत्साहित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिका अन्तर्गतका विद्यालयको भौतिक पूर्वाधार विकास गर्दै हरित विद्यालय बनाइने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
जानकी गाउँपालिकाले आम्दानी बढाउन वैज्ञानिक कर प्रणालीको विकास गरी लगानीमैत्री कर नीति अगाडि सारेको छ । आगामी आर्थिक वर्षमा गाउँपालिकालाई औद्योगिक करिडोरको रुपमा विकास गरिने नीति तथा कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
यसअघि गाउँपालिकाको आठौँ गाउँसभा उद्घाटन समारोहमा नेकपा बाँके कार्यालय समूह सदस्य एवम् जानकी गाउँपालिका कमिटी अध्यक्ष पदमबहादुर धिताल, नेकपा जिल्ला कमिटी रक्षाराम कुर्मी, साविक इन्द्रपुर गाविसका पूर्व अध्यक्ष रामदयाल बर्माले शुभकामना व्यक्त गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष रामनिवास यादवको सभाअध्यक्षतामा भएको गाउँसभा उद्घाटन समारोहमा उपाध्यक्ष भूमिसरा धितालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने गाउँसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !