छुट सुविधा कार्यान्वयनको माग

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले सरकारले बैंकमार्फत घोषणा गरेको बिभिन्न छुट सुविधा कडाईका साथ कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।
नेपाल राष्ट्र बैंक, नेपालगञ्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटासँग आइतबार भएको भेटघाटमा संघले बैंकमार्फत सरकारले दिएको ब्याजलगायतका छुटको प्रभावकारी कार्यान्वयनका लागि ध्यानार्कषण गराएको हो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केही बैंक तथा वित्तीय संस्थाले ब्याज छुट कार्यान्वयन नगरेको गुनासो गर्नुभयो । ‘कार्यान्वयनमा आलटाल भइरहेको छ । नियमन गर्ने निकाय भएकाले राष्ट्र बैंकले हेरिदिओस् भन्ने चाहेका छौं,’ मन्सुरीले भन्नुभयो ।
तीन महिना लामो लकडाउनका कारण व्यापार, व्यवसाय अवरुद्ध भएपछि बैंकको ब्याजमा केही मात्र छुट दिने घोषणा गरेको छ । लकडाउनको अवधिमा साँवा, ब्याज बुझाउन समस्या रहेको भन्दै व्यवसायीले समय थप गर्न माग गरेका छन् । तर घोषणा भएकै सहुलियत दिन समेत केही वित्तीय संस्थाले अनाकानी गरेको व्यवसायीको गुनासो छ ।
यस सम्बन्धी राष्ट्र बैंकको ध्यानार्कषण गराउँदै थप सहुलियतका लागि अनुरोध गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । महासचिव ओलीका अनुसार, राष्ट्र बैंकका निर्देशक सापकोटाले नियमनको कार्य प्रभावकारी बनाउने विषयमा निश्चित हुन आग्रह गर्नुभयो । सापकोटाले अनुगमनलाई प्रभावकारी बनाइएको बताउँदै कुनै गुनासा भए तत्काल सम्बोधन हुने स्पष्ट पार्नुभयो ।
छलफलमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले लकडाउनका कारण उद्योगी, व्यवसायी ऋण तिर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । छलफलमा संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामीलगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !