खजुरामा ‘एक वडा, एक बाली’
खजुरा – यतिबेला बेसारको खुब चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बेसारका बारेमा लामो ब्याख्या गरिदिएपछि देशभर नै त्यसले चर्चा पाएको छ । खासगरी हाम्रो भान्छामा नभई नहुनेमध्येको एक आइटम हो, बेसार ।
कोरोनाको कहरका बेला बेसारको चर्चा आएको हो । बेसारले इम्यूनिटि पावर बढाउने कुरा छ । बेसार नेपालीको भान्छामा नभई नहुने बस्तु अनि त्यसको उत्पादनमा स्थानीय सरकारले के गरिरहेका छन् ? खोजी गर्दै जादा खजुरा गाउँपालिकाले बेसारको उत्पादनमा लगानी गरेको पाइएको छ ।
खजुराले ‘एक वडा, एक बाली’को अवधारणालाई अघि बढाउँदा वडा नंं. १ मा बेसारलाई छानेको छ । एक जना किसानले कम्तीमा ५ कठ्ठा जमिनमा बेसार लगाउने गरी तीन जनासँग सम्झौता भएको छ । खजुराका आठ वटा वडामा फरक–फरक बालीलाई बढावा दिन यस्तो कार्यक्रम ल्याइएको पालिकाका कृषि शाखाका प्रमुख पुनम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नं. २ मा टमाटर, वडा नं. ३ मा तरकारी तथा फलफूल, वडा नं. ४ मा च्याउ, वडा नं. ५, ६ र ७ मा खाद्यान्न, बिउ र वडा नं. ८ मा जरेबाली परेका छन् ।
एउटा वडालाई एउटा खेतीले चिनाउने खजुराको रणनीति रहेको छ । केन्द्र र प्रदेश सरकारले आगामी कार्यक्रममा ‘एक पालिका, एक बाली’को अवधारणा अघि सारेको छ । खजुराले यो कुरालाई पहिले नै अगाडि बढाइसकेको छ । कृषि शाखाका प्रमुख पोखरेलले भन्नुभयो, ‘केन्द्र र प्रदेश सरकारले एक पालिका, एक बालीको अवधारणा ल्याउँदैछन् । खजुराले एक बाली, एक वडाको कार्यक्रम सञ्चालन गरिसकेको छ ।’
एक वडा, एक बालीमा २६ जना किसान समेटिएका छन् । उनीहरुलाई बिउ, मल, औजारमा ५० प्रतिशत र सिंचाईमा ७५ प्रतिशत अनुदान दिइने छ । उत्पादन भइसकेपछि उनीहरुलाई भुक्तानी दिइनेछ । कृषि शाखा प्रमुख पोखरेलका अनुसार, भुक्तानी दिने प्रक्रिया चलिरहेको छ ।
खजुराले कृषिमा यो वर्ष ६० लाख रुपैया छुट्याएको छ । त्यसमध्येको यो एक वडा, एक बाली ठूलो कार्यक्रम हो । यसमा २० लाख छुट्याइएको छ । खजुराले दश लाखमा स्मार्ट कृषिका लागि छुट्याएको छ । स्मार्ट कृषिअन्तर्गत सिंचाई, तरकारी खेतीलगायत विभिन्न कार्यक्रम समेटिएका छन् । मागमा आधारित कार्यक्रम दश लाखको रहेको छ । यो कार्यक्रममा जो पनि समेटिन सक्छ । प्रक्रिया पु¥याएर माग गर्नेले अनुदान पाउँछ । यसमा यान्त्रीकरण, टनेल समेटिएका छन् । एकजनालाई ५० हजारसम्म दिने यो कार्यक्रममा २३ जना लाभान्वित भएका छन् ।
सिंचाई कार्यक्रम सात लाख रुपैया परेको छ । यो केन्द्र र पालिकाको कार्यक्रम हो । केन्द्रले पाँच लाख दिंदा पालिकाले दुई लाख रुपैया हालेको छ । ६० जनाको निवेदन परेकोमा २० जना लाभान्वित भएका छन् । तीन लाख रुपैयाको भकारो सुधार कार्यक्रम अगाडि बढाइएको छ । यसमा एकजना किसानलाई पाँच हजार दुई सय रुपैया रहेको छ ।
खजुराले चालु आर्थिक वर्षमा बाल प्रतियोगिता गराएको छ । धान, गहुँ, च्याउ, टमाटर र आलु त्यसमा समेटिएको छ । विजेतालाई दश हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैया दिइदैछ । कृषि शाखाका प्रमुख पोखरेलले केही दिनमै पुरस्कार वितरण हुने बताउनुभयो । यो बाहेक खजुराले कृषिमा मौसमी, बेमौसमी च्याउ तालिम, एक दिने बाली उपचार शिविर सञ्चालन गरेको छ । बाली उपचार शिविरमा केन्द्रबाट विज्ञ बोलाएर किसानको समस्या समाधान गरिएको थियो । बाली उपचार शिविर खजुराले गरेको छुट्टै कार्यक्रममा पर्छ । खजुराले किसान सञ्जाल गठन गरेको छ । किसान सञ्जालले केन्द्र, प्रदेश र पालिकाबाट किसानका लागि आएका कार्यक्रमहरु छिटो प्रचार प्रसार गर्छन् । र, धेरै भन्दा धेरै किसानले त्यो कार्यक्रमका बारेमा थाहा पाउँछन् । यसले किसानलाई फाइदै पु¥याएको छ ।