खजुराको शिक्षा : ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’

योगिनीमा बन्दै गरेको भवन ।

खजुरा – खजुरा गाउँपालिकाको वडा नं. ३ मा सात वटा मावि छन् । सामुदायिकतर्फ चार र संस्थागततर्फ तीन वटा । यो वडामा आदर्श, जनता, ज्ञानोदय, नेरामावि, जेनिथ, दीपक र अरुणोदयले मावि चलाएका छन् ।
एउटै वडामा सात वटा मावि ‘आवश्यक’ हो त ? पक्कै पनि वडा नं. ३ ले मात्रै सात वटा माविलाई विद्यार्थी पु¥याउन सकेका छैनन् । खजुरा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्ल भन्नुहुन्छ, ‘क्याचमेन्ट एरियामा विद्यार्थी छैनन्, अन्तबाट ल्याएर स्कूल चलाएका छन् ।’
यी विद्यालयहरुले टाढा–टाढाबाट विद्यार्थी ल्याएका छन् । संस्थागतले मात्रै होइन, सामुदायिक विद्यालयले पनि बस दौडाएका छन् । यिनीहरु खजुराको मात्रै होइन, जिल्लाकै नाम चलेका विद्यालयमध्येमा पर्छन् । यी विद्यालयहरुमा मावि दरबन्दी पर्याप्त छैनन् । जस्तो, नेरामावि मनकामनामा एकजना मात्रै मावि दरबन्दी छन् ।
खजुराका सबै वडामा मावि छन् । विद्यार्थी र शिक्षकको अनुपात मिलिसकेको छैन । शिक्षा शाखाका प्रमुख मल्लले विद्यार्थी र शिक्षकको अनुपात मिलाउनका लागि ‘मर्ज’ को नीति अघि सारेको बताउनुभयो । गाउँपालिकाले नयाँ विद्यालय खोल्ने र तह थप्ने काममा कडाई गरेको छ । ‘नक्सांकन गरेर तह थप्ने र हटाउने काम गरिरहेका छौं, मल्लले भन्नुभयो, नयाँ विद्यालय खोल्दा वा तह थप्दा त्यो त्यहाँ आवश्यक हो कि होइन हेर्ने गरिएको छ ।’
खजुरामा सामुदायिकतर्फ १४ र संस्थागततर्फ १२ वटा मावि छन् । एउटा मावि स्कूलका लागि उसको एरियामा तीन वटा निमावि हुनुपर्छ । त्यस्तै, निमाविका लागि तीन वटा प्रावि । खजुरामा यो रेसियामा छन् त ? शिक्षा शाखा प्रमुख मल्ल भन्नुहुन्छ, ‘विद्यार्थी अनुपातमा शिक्षक मिलाउदै छौं । कतै तह झार्ने र आवश्यक परेका ठाउँमा बढाउँछौं ।’
खजुराले एउटा नारा अघि सारेको छ, ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक ।’ पछिल्लो दिनमा स्वीकृति दिंदा यसलाई ख्याल गर्ने गरिएको छ । प्राथमिक तहमा विद्यार्थीको संख्या कम देखिनुले पनि विद्यालय मर्ज गर्न आवश्यक देखिन्छ । स्रोत साधनलाई चुस्त दुरुस्त गर्नका लागि मर्ज आवश्यक रहेको छ ।
खजुरामा ३० वटा सामुदायिक, १४ वटा मदरसासहित ६६ वटा विद्यालय छन् । पालिकामा १७ हजार विद्यार्थी रहेको आकलन छ ।
गाउँपालिकाले दुई करोड ५२ लाख रुपैया शिक्षामा छुट्याएको छ । ५२ लाख ५० हजार रुपैया शिक्षकको तलवमा जान्छ । विद्यालय धेरै हुँदा यो बजेट कनिका छरेजस्तो हुने गरेको छ । त्यसकारण पनि मर्जको नीतिलाई अघि सारिएको छ । गाउँपालिकाले शिक्षा नीति र ऐन बनाइ सकेको छ । नियमावली बनाउने तरखरमा छ ।
खजुराले यो वर्ष ६ वटा विद्यालय भवन बनाइरहेको छ । त्यसमा १२ वटा कोठा छन् । सशर्त कार्यक्रममा आएको १८ करोडमध्येबाट यी भवन बन्दैछन् । असार मसान्तसम्ममा काम सक्ने तयारी छ ।
खजुराले यो वर्ष शैषिक महोत्सव गरेको छ । स्टलहरु बनाएर विद्यालयको प्रगति, उपलब्धीहरुको प्रदर्शनी गरिएको थियो । राष्ट्रपति रनिङ शिल्डमा पनि अन्यत्र भन्दा फरक गरियो । प्रावि, निमावि र माविका छुट्टा छुट्टै प्रतियोगिता गराइयो । खेल शिक्षकलाई एक हप्ता तालिम दिइयो ।
गाउँपालिकाले एकदेखि आठ कक्षासम्म निशुल्क तथा अनिवार्य शिक्षा लागु गरेको छ । कक्षा कोठा सवलीकरण कार्यक्रमका साथै स्तर मापन परीक्षा लिइएको छ । त्यसमा पाँच कक्षाको अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषय थियो । शिक्षा शाखा प्रमुख मल्लका अनुसार, गुणस्तरीय शिक्षाका लागि अनुगमनलाई प्राथमिकतामा राखिएको छ । विद्यालयको भौतिक, आर्थिक र शैक्षिक व्यवस्थापनको प्रतिवेदन तयार पारिएको छ । गुणस्तरीय पढाईका लागि सूचना प्रविधिमा जोड दिइएको छ । विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने र कम्प्यूटर ल्याब सञ्चालनमा जोड दिइएको छ । यसमा अलिकति समस्या भनेको प्रयोग गर्ने बढाउनु पर्नेछ । शिक्षकलाई तालिम दिनु पर्नेछ ।
गाउँपालिकाले बाल विकास केन्द्र र विद्यालयका कर्मचारीलाई दुई हजार मासिक प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । मावि तहका कर्मचारीलाई तीन हजार दिइएको छ । ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’को नीतिलाई अघि बढाउँदा तहगत हुन्छ कि विद्यालय नै, मर्ज गर्न आवश्यक रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !