यस्तो थियो कुरा, कसरी निर्णय नभएको सूचना बाहिर आयो ?

नेपालगञ्ज – शनिबार जिल्ला प्रशासन कार्यालय, बाँकेको अत्यन्त जरुरी सूचना भनेर एउटा सूचना बाहिर आयो । त्यसमा विविध कुराहरुसँगै विहान ६ देखि ९ बजेसम्म अत्यावश्यक बस्तु खरिद गर्न सकिने उल्लेख थियो ।
बाँकेमा निषेधाज्ञा, लकडाउन जारी रहेपनि पूर्ववत निर्णय अनुसार ११ देखि तीन बजेसम्म अत्यावश्यक बस्तु खरिदको व्यवस्था गरिएको थियो । एकाएक नयाँ सूचना आएपछि मानिसमा नयाँ तरंग पैदा भयो ।
तर, यो सूचना धेरैबेर टिकेन । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले त्यस्तो कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँ आफैले फेसबुकमा पनि लेख्नुभयो, ‘बाँके जिल्लाको लकडाउन व्यवस्थापनबारे आज कुनै निर्णय नभएको र अत्यावश्यक बस्तु र सेवाको समय साविक बमोजिम हुने सबैमा अनुरोध गर्दछु ।’
त्यसो भए ‘कुशल प्रशासक’हरु रहेको जिल्ला प्रशासन कार्यालयबाट निर्णय नभएको कुरा कसरी बाहिर आयो ? अनि खासमा त्यहाँ भएको कुरा के थियो त ? यसबारेमा प्रशासन स्रोतले भन्यो, विहान ६ देखि नौ बजेसम्म तरकारी, दूध, फलफल, दैनिक उपभोग्य बस्तु खरिद गर्न दिने, दशदेखि एक बजेसम्म बैंक खुलाउने, साँझ ७ देखि नौ बजेसम्म विकास निर्माणका सामाग्री ढुवानी गर्न दिने, विकास निर्माणको काम चौविसै घण्टा गर्न दिने भन्ने विकल्पहरुका बारेमा चर्चा भएको थियो । निर्णय भइसकेको थिएन । एक्कासी सूचना बाहिर आएछ ।
स्थानीय निकायले योजनाका कामहरु अघि बढाइसकेका छन् । आर्थिक वर्ष सकिन थालेकाले छिटो काम भ्याउनु चटारो पनि छ । स्थानीय प्रशासनले निषेधाज्ञा भन्दै विकासका निर्माणका काममा बाधा पु¥याउनु हुँदैन भन्ने चर्को आवाज उठेको छ । स्थानीय प्रशासनले पनि केही समयमै आर्थिक वर्ष सकिने भएकाले रोकिएका विकास निर्माणका कामहरु गर्न दिने पक्षमा छलफलहरु गरिरहेको छ । तर, कसरी जाने भन्ने निर्णय भइसकेको छैन । त्यही विकल्पहरुका बारेमा छलफलहरु अघि बढिरहदा त्यहीमध्येको एउटा विकल्पको सूचना बाहिर आएको छ । यद्यपि, निर्णय भइसकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !