बजेटप्रति मिश्रित प्रतिक्रिया

नेपालगञ्ज – आर्थिक वर्ष २०७७-७८ को बजेटका बारेमा नेपालगञ्जका उद्योगी, व्यवसायी र अर्थशास्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघले बजेटका विषयमा शुक्रबार गरेको भर्चुअल छलफलमा मिश्रित प्रतिक्रिया आएको हो ।
‘यो बजेटले कोरोनाका कारण ध्वस्त भएको अर्थतन्त्रलाई पुनर्जीवन दिने सम्भावना म देख्दिन,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले भन्नुभयो, ‘मैले अपेक्षा गरे अनुसारको बजेट आएन ।’ आचार्यले बजेटमा साना तथा मझौला उद्योग, कृषि र स्वास्थ्यलाई भने प्राथमिकतामा राखिएको बताउनुभयो ।
पूर्व केन्द्रीय सदस्य आचार्यले पुरानै आयोजनाको निरन्तरता बाहेक बाँकेलाई यसपटकको बजेटले उल्लेखिय कुनै योजना समेट्न नसकेको बताउनुभयो ।
महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाईले कोरोनाका कारण प्रभावित ठूला औद्योगिक क्षेत्रलाई बजेटले सम्बोधन नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा हेल्थ सेक्टरलाई प्राथमिकतामा राख्ने कुरा नयाँ होइन । यो जरुरी नै थियो । तर अर्थतन्त्रका लागि उपलब्धीमुलक हुने देखिएन ।’ प्रसाईले हरेक योजना प्रदेश राजधानी केन्द्रीत राखिएकाले नेपालगञ्ज जस्ता शहर पछि परेको बताउनुभयो ।
महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेका लागि पुरानै योजना समेटिएको बताउँदै नयाँ कुरा केही नआएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘सुख्खा बन्दरगाहा, सिक्टा जस्ता योजनालाई निरन्तरता दिने भनिएको छ । यो नयाँ होइन पुरानै हो ।’
नेपालगञ्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्यले विषम परिस्थितिमा आएको बजेटलाई सन्तोषजनक नै मान्न सकिए पनि निजी क्षेत्रका लागि भने अपेक्षाकृत नभएको बताउनुभयो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बाँकेका लागि नयाँ योजना आउने अपेक्षा गरेपनि त्यसो नभएकाले निरास बनाएको बताउनुभयो । मन्सुरीले भन्नुभयो, ‘हामीलाई पहिले जस्तै अहिले पनि ठगिएको महसुस गरिएको छ ।’
अर्थशास्त्री कमानसिंह बोहरा, भुवनेश्वर लामिछाने, कोषराज रेग्मी, लेखापरीक्षक करिम खान, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले बजेट परम्परागतशैलीमा आएको र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न खासै प्रभावकारी योजना आउन नसकेको बताउनुभयो ।
छलफलमा संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, महासचिव चिरञ्जीवी ओली, पूर्व उपाध्यक्ष दुर्गा भण्डारी, कोषाध्यक्ष हरिलाल न्यौपाने, कार्यसमिति सदस्य भिम रानाभाट, टंकप्रसाद शर्मा, भिमलाल कँडेल लगायतले बोल्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !