अम्पायरको धाँधली
क्रमशः
प्रथम एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा सबै अम्पायर मलेसियन थिए । सम्भवतः एसीसीले आर्थिक पक्षलाई ध्यान दिएर होला, अम्पायर मलेसियन नै राखेको थियो । १४ जुलाईमा मलेसियाविरुद्ध खेल थियो । घरेलु टिम हुनुका नाताले नेपाली टिमलाई अलिक दबाब महसुस भइरहेको थियो, जुन स्वाभाविकै थियो । मलेसियाविरुद्ध खेलमा अम्पायरहरूले अलिक पक्षपाती निर्णय गरे । कतिपय दिनु नपर्ने निर्णय दिइरहेका थिए । मलाई चित्त बुझिरहेको थिएन । म आफैँ क्रिकेटको विद्यार्थी, ७२ रनको लक्ष्य हामीले पछ्याइरहेका थियौँ । राम्रो खेलिरहेका हाम्रा खेलाडीलाई गलत आउट दिने काम भयो । गलत आउट दिइरहँदा मलाई रिस उठ्यो । पूर्वखेलाडीका नाताले मैले सहजै नियमहरू उल्लङ्घन भएको ठम्याएँ । म्याचको रेफ्री मिस सुधा साह थिइन् । अम्पायरहरू एस चन्द्र सेखरन, एम मेघाकेवट थिए । म्याच रेफ्रीहरूलाई अम्पायरले गरेको वायस निर्णयबारे मैले रिस पोखेँ । गलत निर्णयविरुद्ध एसीसीमा उजुरी गर्छु भनेर धम्की पनि दिएँ । उनीहरूले तीनवटा गलत निर्णय दिएका थिए । त्यसका बाबजुद पनि हामीले म्याच टाइ गरायौँ ।
म्याच टाइ भएपछि हाम्रो टोली ड्रेसिङ रुममा आएर रुन थाल्यो । कोही सुक्कसुक्क गरिरहेका थिए, केही त डाँको छोडेरै रोए । राम्रा खेलाडीहरू नेरी, ममता, सीता, सरस्वती रोइरहेका थिए । त्यो देखेपछि हाम्रा खेलाडी जितका लागि कति विश्वस्त रहेछन् भन्ने थाहा भयो । हामीले जितेको म्याच अम्पायरका गलत निर्णयले बराबरीमा पुगेको थियो । त्यो खेलमा निरा राजोपाध्यायले राम्रो खेलेकी थिइन् । पछि उनी महिला क्रिकेट टिमको कप्तानसमेत भइन् ।
पहिलो दिन नै होटलबाट बसमा चढिरहँदा अरू देशका खेलाडीहरूसँग ठूूलठूला किट ब्यागहरू देखेको थिएँ । हङकङ, चीन, थाइल्यान्ड, सिङ्गापुरका खेलाडीका व्यक्तिगत किट ब्यागहरू थिए । सबैसँग विदेशी कोच थिए । हामीसँग गएका थिए, जङ्गबहादुर थापा । हाम्रो व्यक्तिगतभन्दा पनि सामूहिक ठूलो किट ब्याग थियो । त्यसमा सबैका सामान राखिएको थियो । मैदान उत्रिने अनुभवमा पनि अरू देशका खेलाडीका तुलनामा हाम्रा नानीहरू भर्खर कुनै ग्रामीण क्षेत्रबाट आएजस्ता देखिन्थे ।
थाइल्यान्डलाई हराएपछि भने हाम्रा खेलाडीमा उत्साह बढ्यो । मलेसियासँगको म्याचले खेलाडीहरू निराश भए । पत्रकार पवित्रा राउत पनि सगँै थिइन् । उनले पनि खेलाडीलाई अर्को खेलमा रामा्रे प्रदर्शन गर्न सम्झाइन् । जङ्ग दाइ र मैले काउन्सिलिङ गरेपछि १५÷२० मिनेटपछि माहोल बल्ल सम्हालियो । त्यसलगत्तै मैले नोटिस लेखेँ । अम्पायरको सम्बन्धमा म्याच रेफ्रीलाई मैले लिखित रूपमा भने, ‘यो धाँधली भयो । अम्पायरले धाँधली गरे । यो क्रिकेटका लागि दुर्भाग्यपूर्ण भयो । आजका अम्पायरको गतिविधि क्रिकेटको हितमा छैन । यस्ता क्रियाकलापलाई तुरुन्त रोक्न टिमका तर्फबाट लिखित आग्रह गर्दछु ।’
अम्पायरहरूको प्रतिवेदन क्याप्टेनले नोटिस दिनुपर्छ । ती अम्पायरलाई हामीले कुनै अङ्क नै दिएनाँै । बायस अम्पायरिङ लेखेर दियौँ । वास्तवमा त्यो दुःखद थियो । मलेसिया जसरी पनि हामीलाई हराउने ध्याउन्नमा लागेको थियो । उनीहरूको मनसाय नै त्यस्तो थियो । हाम्रो भाग्य बलियो थियो, धन्न हार बेहोर्नु परेन ।
दाबेदार हङकङलाई तगारो
मलेसियाका मैदान व्यवस्थित थिए, निकै आकर्षक पनि । दर्शक उपस्थिति भने निकै कम । नेपालको खेल हुँदा मैदानमा नेपाली समर्थक भने उल्लेख्य देखिन्थे । यसले आयोजकमा पनि अलग छाप परेको थियो । जोहार क्रिकेट मैदानमा धेरै नेपालीको उपस्थितिले हामीलाई हौसला मिल्यो । ती नेपालीहरूको हौसलामा हङकङसँगको म्याचमा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । हङकङ उपाधिको दाबेदार मानिएको थियो । उसको टिममा विदेशी क्लबबाट खेलेका खेलाडीसमेत थिए । न्युजिल्यान्ड, इङ्ल्यान्डमा खेल्ने खेलाडीहरू हङकङको टिममा थिए । क्याप्टेन निशा प्राट न्युजिल्यान्डमा खेलेकी थिइन् । न्युजिल्यान्ड विश्व क्रिकेटमै राम्रो टोली मानिन्छ । त्यस्तो देशमा खेलिरहेका खेलाडी हङकङ टिममा हुनु नेपालका लागि मनोवैज्ञानिक दबाब थियो । त्यसमाथि खेल नहुँदै हङकङ बलियो टिम भनेर प्रचारबाजी गरिएको थियो ।
हाम्रा नानीहरूलाई मनोवैज्ञानिक हिसाबले बलियो बनाउन जरुरी थियो । मलेसिया प्रस्थान गर्नुअघिदेखि नै मैले सम्झाइरहेको थिएँ ‘पहिलोपटक खेल्दैछौँ । हामीले पराजित भएर केही गुमाउनेवाला छैनौँ । जित्नुभन्दा पनि राम्रो खेल्नुपर्ने छ यतिबेला । एसीसीको नजरमा राम्रो टिम बन्नुपर्नेछ ।’ नानीहरूले हस् भन्दै टाउको हल्लाएका थिए ।
हङकङलाई ३६ रनमा समेटेर नेपाली टिमले साँच्चिकै राम्रो प्रदर्शन गरेको थियो । नेपालले एक रन पनि अतिरिक्त दिएन । न नो बल, न त वाइड बल । त्यो आफँैमा ठूलो उपलब्धि थियो । पहिलो खेल खेलिरहेका खेलाडीले एक रन पनि अतिरिक्त नदिनु अचम्मै भएको थियो । एसिया डेभलपमेन्ट म्यानेजर रुमेस रत्नाकेले हाम्रो खेल देखेर अत्यधिक प्रभावित हुँदै भनेका थिए, ‘वेल डन, भेरी नाइस बलिङ, नेपाल टिम ।’ त्यो म्याचमा हामीले हङकङलाई हरायौँ । त्यो प्िरतयोगिताभरिको उलटफेर थियो । एकदमै खुसीको माहोल बनेको थियो । त्यसले नेपाली समर्थकलाई ठूलो खुसी दिएको थियो । त्यसैले उनीहरूले हाम्रा खेलाडीहरूसँग फोटो खिचाए ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)