‘कान्ला’मा लुकेका थिए भागेका संक्रमित
नेपालगञ्ज – नरैनापुर–३ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित आज विहान नाकामा फेला परेका छन् ।
यो क्वारेन्टाइनमा रहेका १२ जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई लिन नेपालगञ्जबाट गएको एम्बुलेन्सलाई स्थानीयले अवरोध गरेपछि एकजना भागेका थिए । तीन सय बढी प्रहरीले रातभरी खोज्दा उनी नाकामा आपको रुख नजिक कान्लामा भेटिएको बाँके प्रहरीले बताएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले रातभरी तीन सय प्रहरी परिचालन गरेर उसलाई नियन्त्रणमा लिएको बताउनुभयो । ‘नाकामा आपको रुख नजिक कान्लामा लुकेको अवस्थामा साढे चार बजे भेटिएको छ, उसलाई अहिले नेपालगञ्ज ल्याइरहेका छौं, प्रवक्ता सिंहले भन्नुभयो, क्वारेन्टाइनबाट भागेर भारततिर जान खोजेपनि नाकामा पहिला नै एलर्ट गराएर सुरक्षा व्यवस्था कडा पारेपछि उनीहरु जान सकेका थिएनन् ।’
पछिल्लो पटक कोरोना पुष्टि भएका नरैनापुरका १२ जनालाई राती नेपालगञ्जको डेन्टल लायन्स आइसोलेसन सेन्टरमा ल्याइएको छ । भागेका व्यक्तिलाई पनि त्यही ल्याइदैछ । डेन्टलबाट उनीहरुलाई अन्यत्र व्यवस्थापन गर्ने तयारी भएको छ ।