भागे संक्रमित

नेपालगञ्ज – नरैनापुर गाउँपालिका वडा नं. ३ का एकजना कोरोना संक्रमित भागेका छन् ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनमा रहेका उनी कोरोना पुष्टि भएसँगै नेपालगञ्जबाट गएको एम्बुलेन्समा आउनुको साटो भागेका हुन् । यो क्वारेन्टाइनमा रहेका १२ जनामा शुक्रबारमात्रै कोरोना पुष्टि भएको थियो । नजिकको अर्को स्कूलमा रहेका एकजनामा पनि कोरोना पुष्टि भएसँगै शुक्रबार नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ जना संक्रमित थपिएका थिए ।
कोरोना पुष्टि भएकालाई नेपालगञ्ज ल्याउने गरी एम्बुलेन्स नरैनापुर पुगेको थियो । स्थानीयले एम्बुलेन्समा अवरोध पु¥याए । त्यही बेला कोरोना संक्रमितहरु निस्किए । जिल्ला प्रहरी कार्यालय, बाँकेबाट डीएसपी शिवबहादुर सिंहको कमाण्डमा गएको टोलीले भीडलाई हटाएर कोरोना संक्रमित ११ जनालाई सामेल गरायो । धेरैबेरसम्म खोज्दा पनि एकजना भने फेला परेनन् । सुरक्षाकर्मीले गाउँमा खोजतलास गर्दा पनि भेट्न नसकेपछि अरुलाई लिएर फर्किएको छ ।
क्वारेन्टाइन रहेको स्कूलदेखि भारतीय सीमा नजिकै पर्छ । कतिपयले उनी दौडेर भारततिर प्रवेश गरेको आशंका गरेका छन् । तर, नाकामा एसएसबीको कडा निगरानी रहेकाले नाका पार गर्न नसकेको आकलन गरिएको छ । प्रहरीले गाउँमै लुकेको हुन सक्ने बताएको छ । रातीको १२ बज्न केही मिनेटमात्रै बाँकी रहदा प्रहरी अरुलाई लिएर नेपालगञ्ज फर्किएको छ ।
नरैनापुरको लक्ष्मणपुरबाट यसअघि पनि संक्रमितलाई नेपालगञ्ज ल्याउनमा अवरोध गरिएको थियो । त्यसका बाबजुद प्रहरीले बिरामीलाई नेपालगञ्ज ल्याएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !