डुडुवामा ६६ जना क्वारेन्टाइनमा

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकामा भारतबाट आएका ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गएराती २३ र बुधबार विहान फर्किएका ४३ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
डुडुवा गाउँपालिका वार्ड नंं. ३ स्थित बनकट्टी माविमा स्थापना गरिएको सय वेडको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार, विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा खानेपानी, शौचालय, स्वास्थ्य सरसफाईको व्यवस्था, साबुन, हेण्डवास, सेनीटाइजर खानालगायतको व्यवस्था गरिएको छ ।
नेपाल भारतको सीमा नाकामा अलपत्र परेका नेपालीहरु फर्किने क्रम बढेकाले क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा बृद्धि भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । सीमा नाकासँग जोडिएको गाउँपालिका भएकाले भारतबाट दैनिक रुपमा फर्किने नेपालीहरु बढेपछि गाउँपालिकामा क्वारेन्टाइनको संख्या समेत बढाउन थालिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार, क्वारेन्टाइन स्थापना तथा कोरोना संक्रमणको रोकथामलगायतका विषयमा रणनीति बनाउन सर्बदलीय बैठक बोलाइएको छ ।
बैठकले पालिकामा कति वटासम्म क्वारेन्टाइन निमार्ण गर्ने, सीमा नाकामा कडाइ, चेकजाँच, तथा स्थानीय तहको भूमिकालगायतका विषयमा निर्णय गर्ने छ । गाउँपालिकामा अहिले ४ स्थानमा सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !