एरिया नै क्वारेन्टाइन, ८३ को स्वाव परीक्षण
नेपालगञ्ज – कोरोना संक्रमितको दैनिक आवतजावत भएको जुलाहनपुरुवा टोललाई क्वारेन्टाइन बनाइएको छ ।
वडा नं. ८ मा पर्ने यो टोलमा कोरोना संक्रमित व्यक्ति दैनिक मस्जिद तथा मदरसामा आएको देखिएकाले त्यहाँ रहेका ७८ जनालाई क्वारेन्टाइनमा राखिएको हो । स्थानीय प्रशासनले शुक्रबार रातीदेखि नै यो टोललाई सील गरेको थियो । अब १४ दिनसम्म आर्मीसमेतको पहरामा टोल रहनेछ । सुरक्षा अधिकारीका अनुसार, टोलभित्र कोही जान पाउँदैनन् भने भित्रका पनि बाहिर निस्किन पाउँदैनन् ।
संक्रमितका परिवार र नजिकका आफन्ती आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लैजाने तयारी भएको छ । शनिबार संक्रमितका परिवार तथा आफन्ती र सम्पर्कमा रहेका ८३ जनाको स्वाव निकालिएको छ ।
घरपरिवार, आफन्ती तथा सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव निकालिएकाले रिपोर्ट आउदासम्मका लागि टोललाई क्वारेन्टाइन बनाउने नीति लिइएको छ । रिपोर्ट के आउँछ, त्यही अनुसार अघि बढिनेछ । पोजिटिभ आएकालाई आइसोलेसन कक्षमा लगिने छ भने नेगेटिभ आएमा त्यही क्वारेन्टाइनमै राखिनेछ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले संक्रमितका घरपरिवार, आफन्ती र सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव लिने काम भइरहेको बताउनुभयो । ‘अहिलेसम्म ८३ जनाको स्वाव निकालिएको छ । उनीहरुको भोलीसम्ममा रिपोर्ट आउँछ होला । त्यसपछि कसरी अघि बढ्ने कुरा हुन्छ,’ फोकलपर्सन श्रेष्ठले भन्नुभयो ।