ऐतिहासिक दिन
क्रमशः
२०६१ फागुन १५ गते । हाम्रो व्यग्र प्रतीक्षाको घडी । झन्डै एक वर्षदेखि देखेको सपना पूरा हुँदै थियो । नेपाली किशोरीहरू पहिलोपटक औपचारिक रूपमा मैदानमा उत्रिदै थिए । कोहलपुरस्थित क्रिकेट मैदान सर्वत्र चासोको केन्द्र थियो । कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको झन्डै पाँच बिघा मैदानलाई हामीले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामकरण गरेका थियौं । बाँके भरका किशोरी क्रिकेटरको जमघट त्यही थियो । यो मैदानले पहिलोपल्ट यतिधेरै खेलाडि पाउँदैथियो । कोहलपुर नगरभरि क्रिकेट ब्याट र बल समातेका किशोरीहरू देखिन्थे । नगरवासीमा एउटा बेग्लै कौतूहल जागेको थियो, केटीहरूको क्रिकेट कस्तो होला ?
सहभागी किशोरीको अनुहारमा देखिएको उत्साह र चमकले हामी अभियानकर्ताहरू दङ्ग थियौ । प्रधानाध्यापक, खेलशिक्षक आउदै थिए । मूलधारका पत्रकारको जमघट भइसकेको थियो । उनीहरूले पनि निकै प्राथमिकता दिएका थिए । रामजानकी र ग्रिनपिसका छात्राहरू मैदान प्रवेश गरिसकेका थिए । उनीहरूले मैदानमा बलिङ र ब्याटिङको प्रारम्भिक अभ्यास गरिरहँदा मैदानबाहिर दर्शकदीर्घा निकै रोमाञ्चित देखियो । कुनै सांस्कृतिक मेलाझै मैदान वरपर सयौ झुम्मिएर बसेका थिए । कोहलपुरमा क्रिकेटको यति ठूलो माहोल पहिलोपल्ट देखिएको थियो । राम्रो बलिङ र ब्याटिङ गडगडाहट तालीबाट तत्कालै पुरस्कृत भइहाल्थ्यो । उल्लास, खुसी र उमङ्गले म र मेरो टिम फुरुङ्ग थियो । एउटा ठूलो जित हासिल गरेझै भइरहेको थियो । खुसीले रक्तसञ्चार तेज थियो, धड्कन बढेको मैले महसुस गरेँ । त्यो क्षण म शब्दमा वर्णन गर्नै सक्दिनँ । साँच्चै ! सपना साकार हुनुभन्दा ठूलो सन्तुष्टि केही रहेनछ ।
त्यो ऐतिहासिक पहिलो खेल सञ्चालनको जिम्मा अम्पायर मनमोहन लम्सालले पाए । उनले टस गराइसकेका थिए, ग्रिनपिसले ब्याटिङ रोज्यो । अब हामीलाई पहिलो महिला क्रिकेट प्रतियोगिताको विधिवत् उद्घाटन गराउनु थियो । त्यसका लागि रोजेका थियौ, बाँकेकी ज्येष्ठ महिला ९७ वर्षीया कौशिल्यादेवी रावत । उनले उद्घाटन गरेपछि प्रतियोगिताले औपचारिक ढोका खोल्यो । त्यो कुनै स्थानीय प्रतियोगिता मात्र थिएन, समग्र नेपाली महिला क्रिकेटले आफ्नो यात्रा आरम्भ गरेको क्षण थियो ।
प्रारम्भिक स्पर्धा किन पनि भव्य थियो भने २९ स्कुले टिमका ४ सय ३५ खेलाडी अफिसियलहरू सहभागी थिए । फागुन १५ देखि २२ गतेसम्म दुई केन्द्र बनाएर स्पर्धा गराइयो । कोहलपुर क्षेत्रका १३ स्कुलका लागि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र नेपालगन्ज क्षेत्रका १६ स्कुलका लागि मङग्लपस्राद उच्च माविको मैदान । एक साता दुवै मैदानमा किशोरीले क्रिकेट खेले । तीनदिने तालिमबाट आएका उनीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न सबै अवसरको सदुपयोग गरे ।
दुई केन्द्रका बिजेता स्कुलबीच फाइनल खेलाइयो । नेपालगन्ज मङ्गलप्रसाद र कोहलपुर केन्द्रबाट सूर्योदय मावि फाइनलमा पुगेका थिए । उनीहरूबीच फागुन २२ गते भएको फाइनलमा मङ्गल माविले इतिहास रच्यो । उसले सूर्योदयलाई आठ विकेटले पराजित ग¥यो । सूर्योदयले १८.५ ओभर खेलेर १० विकेट गुमाई ७४ रन जोडेको थियो । जवाफमा मङ्गलले १३.४ ओभरमा दुई विकेट गुमाई ७५ रन बनायो । सूर्योदयका तर्फबाट दुर्गा थापाले अविजित २६ रन बनाएकी थिइन् भने मङ्गलका तर्फबाट कप्तान नेरी थापाले ३६ बलमा अविजित ३७ रन जोडिन् । मङ्गलकी तृष्णा सिंहले पनि २६ रन बनाइन् । बलिङतर्फ नेरी थापाले चार ओभरमा आठ रन दिएर दुई विकेट लिएकी थिइन् । उत्कृष्ट खेलाडी भने एन्जल्स माविकी विनु बुढामगर भएकी थिइन् । प्रशिक्षणका क्रममा छनोट भएका ३० उत्कृष्ट प्रतिभालाई ब्याट पुरस्कार दिइएको थियो । त्यतिबेलासम्म ट्वान्टी÷२० को फम्र्याट आइनसकेको भए पनि हामीले किशोरीहरूका लागि २०÷२० ओभरको प्रतियोगिता खेलाएका थियाँै ।
ऐतिहासिक महिला क्रिकेट शुभारम्भ प्रतियोगिताका विजेतालाई सिल्ड, पदक तथा प्रमाणपत्र वितरण गर्न नेपाल क्रिकेट सङ्घका तत्कालीन अध्यक्ष जयकुमारनाथ साह स्वयं पुगेका थिए । क्यानमा झन्डै ४२ वर्ष नेतृत्व लिएका उनले महिला क्रिकेटको परिकल्पना र विकास गरेको भन्दै सधै मेरो प्रशंसा गरे । मलाई पनि उनको नेतत्ृवमा काम गर्न पाएकामा खुसी लाग्छ । मैले महिला क्रिकेटको परिकल्पना गरेपछि अध्यक्ष साहसँग परामर्श गरेको थिए । उनले सुरुमै उत्साहित हुँदै भनेका थिए, ‘भेरी गुड एलबी । गो अहेड, आइएम विथ यू ।’
प्रशिक्षणकै बेला पनि मैले उनलाई रिपोर्टिङ गरिरहेको थिएँ । उनले सधै हौसला दिइरहे । त्यसैले उनी स्वास्थ्य प्रतिकूल भए पनि नेपाली छोरीहरूको पहिलो क्रिकेट हेर्न कोहलपुर पुगेका थिए । नेपाली महिलाले छिट्टै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नेमा ढुक्क भएर उनी फर्केका थिए ।
क्रिकेटको अन्तर्राष्ट्रिय समुदायले विश्वास गरेका व्यक्ति हुन्, उनी । त्यसैले बाँकेबाट सुरु भएको महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने मेरो सपना साकार हुनेमा मनमा आशा जागेको थियो ।
फाइनल खेल हेरेपछि उनको अनुहार खुसी देखियो । हामी त्यसै गद्गद भयौँ । काठमाडौँ फर्किनुअघि उनले भनेका थिए, ‘यी नानीहरूले भविष्यमा देशको नाम उचो राख्नेछन्, मैदानमा टिकाइराख्नू ।’ साथै, उनले महिला क्रिकेटको प्रस्ट कार्ययोजना लिएर क्यान बैठकमा आउन निर्देशन दिए । त्यो मेरा लागि निर्देशनभन्दा ज्यादा आशीर्वचन लागिरहेको थियो । भोलिपल्टैबाट म तयारीमा जुटे । लिजेन्ड जयकुमारनाथ साहको स्वर्गारोहण र कुशल व्यवस्थापकका रूपमा स्थापित टीबी शाह सरको निधनले नेपाली क्रिकेटलाई अभिभावकविहीन महसुस गराएको छ । अहिले नेपाली क्रिकेटका आरोह-अवरोहका साक्षीका रूपमा विनयराज पाण्डे मात्र एक जना हामीबीच जिउँदो इतिहासका रूपमा रहेका छन्। उनीहरूको योगदान नेपाली क्रिकेटका लागि जहिले पनि अविस्मरणीय रहनेछ । र, हामीलाई सदैव सिक्ने र प्रेरणा दिइरहनेछ । मेरो दृढ विश्वास हो ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)