‘दशगजा’का सबै गए
नेपालगञ्ज – बाँकेको जमुनाहास्थित दशगजामा टेन्ट बनाएर राखिएका विभिन्न जिल्लाका एक सय ८१ जनालाई घर पठाइएको छ ।
केन्द्रको समन्वयमा स्थानीय प्रशासनले उनीहरुलाई २३ औं दिन घर पठाएको हो । भारतका विभिन्न ठाउँबाट घर आएका उनीहरुलाई कोरोनाको जोखिमले गर्दा नाकामा रोकिएको थियो । स्थानीय प्रशासनले टेन्ट टाँगेर दशगजामा राखेको थियो ।
जिल्लागत रुपमा पायक पर्नेलाई एउटा गाडीको व्यवस्था गरेर घर पठाइएको छ । बाँकेका २५ र बर्दियाका दुई जना एउटा गाडीमा बसेर घर गएका छन् । दाङदेखि पूर्व झापासम्मका ५७ जनालाई एउटा गाडी, बर्दियाका १२ जनालाई एउटा गाडी, जुम्ला, मुगु र अछामका २३ जनालाई एउटा गाडी, सल्यान, रुकुम र जाजरकोटका १४ जनालाई एउटा गाडी, रोल्पा र प्यूठानका १९ जनालाई एउटा गाडी, दैलेख र सुर्खेतका २८ जनालाई एउटा गाडीको व्यवस्था गरिएको थियो ।
चैत्र १८ गते नेपालगञ्ज नाकामा आइपुगेका उनीहरुलाई १९ गते नाकामा टेन्ट टाँगेर राखिएको थियो । नेपाली भूमिमा बस्नका लागि उनीहरुले आन्दोलन गरेका थिए । १५ औं दिन उनीहरुको आरडीटी टेष्ट गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थियो । सबै प्रक्रिया पूरा गरिसक्दा पनि घर जान नपाएको भन्दै उनीहरुले नेपालगञ्जका मेयर डा. धवलशमशेर राणामार्फत प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका थिए । आन्दोलनको चेतावनी दिएका उनीहरुलाई सम्झाउन नेताहरु पनि पुगेका थिए ।
नेतादेखि स्थानीय प्रशासनको निरन्तर प्रयासले गर्दा उनीहरुलाई घर पठाउन सकिएको छ ।