नेपालगञ्जमा भयो यस्तो निर्णय

नेपालगञ्ज – नेपालगञ्जमा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णयलाई कडाईका साथ कार्यान्वयन गरिने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा मंगलबार भएको सर्वदलीय र सर्वपक्षीय बैठकले एकद्धार प्रणालीबाट राहत वितरणका लागि कडाईका साथ कार्यान्वयन गर्न गराउनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले राहत वितरण कार्यलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
बैठकले राहत वितरणलाई सहज र प्रभावकारी बनाउन वडास्तरमा सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ ।
बैठकले जिल्ला भित्रका पालिकाहरुमा जान चाहने ब्यक्तिहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा सहजरुपमा जान दिने निर्णय गरेको छ ।
बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले राहत वितरण एकद्धार प्रणालीबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा स्थानीय सरकार भएको बताउनुभयो ।
बैठकमा प्रदेश सांसद विजय यादव, मो. याकुव अन्सारी, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरवहादुर वली, नेकपाका नगर अध्यक्ष डिल्लीप्रसाद बराल, नेपाली काँग्रेसका नगर सभापति प्रशान्त विष्ट, समाजवादी पार्टीका नगर अध्यक्ष श्रवण यादव, राप्रपाका क्षेत्रीय अध्यक्ष दिपेन्द्रबहादुर सिंहलगायतले राहत वितरणका लागि सुझाव दिनुभयो ।
बैठकमा वडा अध्यक्षहरु प्रमोद रिजाल, सुनीलसिंह हमाल, मो. अयुव सिद्धिकी, बुद्धिसागर सुवेदी, विरेन्द्रबहादुर शाह, दीपक वर्मा, कार्यपालिका सदस्य कौसलकुमार धोवी लगायतले राहत वितरणमा आफुहरु पारदर्शी भएर काम गरेको भन्दै जनप्रतिनिधि सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !