कांग्रेसले वीपी स्मृति भवन क्वारेन्टाइन बनाउन दिने

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले वीपी स्मृति भवनको सभा हललाई क्वारेन्टाइन सञ्चालनका लागि दिने जनाएको छ ।
कांग्रेस बाँकेका सभापति किरण कोइरालाले विज्ञप्ती जारी गर्दै भन्नु भएको छ, ‘नागरिकलाई आफ्नो देशमा ल्याएर सुरक्षित र व्यवस्थित क्वारेन्टाइनमा राखी उनीहरुको जीवन रक्षा गर्नु राज्यको दायित्व र कर्तव्य हो । सिंगो मुलुक कोरोना भाइरसबाट आक्रान्त भइरहेको अवस्थामा आमनागरिकलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउन यो संकटको अवस्थामा नेपाली कांग्रेस बाँके सरकारलाई साथ र सहयोग गर्न तयार छ । यसका लागि नेपाली कांग्रेस बाँके वीपी स्मृति भवन नेपालगञ्जको सभा हललाई क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गर्न दिइने यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।’
कांग्रेसले अझै पनि भारतबाट नेपालीहरु फर्किरहेकाले उनीहरुको उचित व्यवस्थापन गर्न माग गरेको छ । उसले भनेको छ, ‘भारतमा लकडाउनका कारण प्रभावित भएका नेपालीहरु अझै पनि स्वदेश फर्किने क्रम नरोकिएको हुँदा उनीहरुलाई सहज रुपमा आफ्नो देशमा प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गर्दछौं । क्वारेन्टाइनमा बस्दासम्म उनीहरुको लागि दैनिक रुपमा खाना, शुद्ध पिउने पानी, स्वास्थ्य जाँच, शौचालयलगायतको उचित ब्यवस्थापन गर्नतर्फ ध्यानदिन आग्रह गर्दछौं ।’
‘कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परिरहेको अवस्थामा नेपाली स्वास्थ्यकर्मीले पनि आफ्नो ज्यान जोखिममा राखेर काम गर्नु परिरहेको अवस्था छ । यस्तो बेलामा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ्य सामाग्री (पि.पि.ई.) नेपाल सरकारले पुरा खरिद नगरेको, खरिद गरिएको सामाग्री पनि कमसल भएको कुरा स्वयं स्वास्थ्यकर्मीले बताइरहेको परिप्रेक्षमा यस्तो संकटको अवस्थामा पनि स्वास्थ्य सामाग्री खरिदमा वर्तमान सरकार भ्रष्टाचारमा संलग्न भएको घटनाको नेपाली कांग्रेस बाँके घोर भत्र्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !