दशगजामा बीस जिल्लाका मानिस

नेपालगञ्ज – दशगजामा बनाइएको टेन्टमा बीस जिल्लाका मानिस बसेका छन् । दुई दिनको ठूलो सकस पछि एक सय ८१ जनाले व्यवस्थित बसोबास पाएका हुन् ।
दशगजाको क्वारेन्टाइन (टेन्ट) मा बस्ने सबैभन्दा धेरै बाँकेका छन् । त्यसपछि दाङ, जुम्ला बर्दिया, रोल्पाका मानिस रहेका छन् ।
प्रहरीका अनुसार, बाँकेका २७, दाङका ३१, जुम्लाका १५, बर्दियाका १४, रोल्पाका १३, रुकुम र दैलेख १०/१०, सल्यानका ९, सुर्खेतका ७, अछाम र झापा ५/५, डोल्पाका ३, स्याङ्जा, मुगु, प्युठान र नवलपरासी २/२, सप्तरी, उदयपुर, रुपन्देही, अर्घाखाँचीका १/१ जना रहेका छन् ।
नेपाली सेनाले टेन्ट बनाइदिएपछि अरु व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरेको छ । उनीहरुको स्वास्थ्य जाँच गर्ने र १४ दिनपछि रिपोर्टका आधारमा छोड्ने तयारी भएको छ ।

यसैबीच, डुडुवा गाउँपालिकाले २३ जनालाई अस्थायी क्वारेन्टाइन (टेन्ट)मा राखेको छ ।
स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाका अनुसार, टेन्टमा राखिएका मानिसको स्वास्थ्य परीक्षण गरी मास्क, सामान्य औषधी वितरण गरिएको छ । उनीहरु दैलेख, सुर्खेत, सल्यान, गोरखालगायत जिल्लाका रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !