पैसा तिर्छु भन्छन् १८ बन्दी
नेपालगञ्ज – सरकारले एक वर्ष भन्दा कम सजाय पाएका बन्दीलाई कैद बराबरको पैसा तिराएर छोड्ने नीति अघि सारेपछि नेपालगञ्ज कारागारबाट २१ जना बन्दीले निवेदन लेखे ।
कारागार प्रशासनले सबैको नामलिष्ट अदालतमा पठायो । त्यसमध्येमा तीन जनालाई छोड्न आदेश आयो । दुई जना पैसा तिरेर छुटे । एकजनाले पैसा तिर्न सकेनन् । बाँकी १८ जनाको आदेश आइसकेको छैन ।
कारागार रहेको कोचाकोचलाई केही खुकुलो पार्न सरकारले एक वर्ष भन्दा कम सजाय तोकिएका व्यक्तिलाई भुक्तान गर्न बाँकी कैद बराबरको पैसा तिराएर छोडिरहेको छ । अढाई सय क्षमताको नेपालगञ्ज कारागारमा साढे आठ सय बन्दी छन् । त्यसमध्येमा एक वर्ष भन्दा कम सजाय भएका व्यक्तिहरुलाई रकम तिर्न सक्नेको नामावली संकलन गर्दा २१ जना अगाडि आएका थिए ।
नेपालगञ्ज कारागारका जेलर देवेन्द्र श्रेष्ठले २१ जनाले निवेदन दिएको र त्यसमध्येमा तीन जनालाई छोड्न आदेश आएकोमा दुई छुटेर गएको जानकारी दिनुभयो ।
कैदी बन्दीले दिनको ६० रुपैया र सात सय ग्राम चामल पाउँछन् । सरकारले दिनको तीन सयको दरले भुक्तान हुन कैद बराबरको पैसा लिएर छोडिरहेको छ । सरकारले भीडभाड कम गर्न कारागार, प्रहरी हिरासतमा रहेकालाई यसरी छोडेको छ ।