मेयर डा. राणाले यस्तो गरे सम्बोधन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा नगरबासीका नाममा सम्बोधन गर्नु भएको छ । मेयर डा. राणाको सम्बोधनको पूर्णपाठ :-
आदरणीय नेपालगञ्जबासी दिदीबहिनी तथा दाजुभाइहरू,
कोरोना भाइरस (कोभिड १९) को महामारी यतिबेला विश्वब्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको छ । छिमेकी मुलुक चीनबाट शुरु भएको कोरोना अहिले विश्वका अधिकांश मुलुकहरूमा फैलिसकेको छ । विश्वका शक्तिशाली र विकसित मुलुकलाई समेत यससँग जुध्न कठिन परिरहेको अवस्था छ । नेपालमा हालसम्म यो रोग देखिएको छैन । तर नेपालगञ्जसँग सीमा जोडिएका भारतीय शहरमा यो रोग देखिइसकेको छ । भारतका विभिन्न स्थानबाट दैनिक हजारौं नेपालगञ्ज नाका हुँदै फिर्ता भइरहेका कारण मुलुकका अरु स्थान भन्दा नेपालगञ्ज उच्च जोखिममा छ । अहिलेको विषम परिस्थितिमा रोग देखिएको छैन भनेर ढुक्क भएर बस्ने अवस्था छैन । तसर्थ नगरबासी थप सजग, सचेत र सावधान हुन जरुरी छ । आम नागरिकको स्वास्थ्य सबैभन्दा ठूलो र महत्वपूर्ण हो । स्थानीय सरकारले सधै जनस्वास्थ्यलाई प्रमुख मान्दै आएको छ । कोरोना भाइरस विश्वव्यापी स्वास्थ्य समस्या बनिसकेको अवस्थामा नेपालगञ्जमा रोगको संक्रमण हुन नदिन पूर्व तयारीसँगै यसबाट हुन सक्ने प्रभावका बारेमा नेपालगञ्ज उपमहानगरपालिकाले निरन्तर पहलकदमी लिदै आएको छ । संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वयमा विभिन्न काम भइरहेको अवस्था छ । नेपालगञ्ज उपमहानगरपालिका समेतको अग्रसरतामा नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टान स्थापनाको तयारी भइरहेको छ । भारतबाट मालसामानको नियमित आपूर्ति भइरहेका कारण बजारमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव हुन नदिन बजर अनूगमनमा तिव्रता दिइएको छ । संकटको घडीमा कालोबजारी गर्नेहरुलाई कानून अनुसार हदैसम्मको सजाय हुनेछ । तसर्थ भविष्यमा वस्तु तथा मालसामानको अभाव हुन्छ कि भनेर एकैसाथ धेरै मालसामान खरिद गरि बजारमा दैनिक उपभोग्य सामानको अभाव हुने अवस्था सिर्जना हुन नदिन सम्पूर्ण नगरबासीमा अनुरोध गर्दछु । नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा कोरोनाविरुद्ध संयुक्त तयारीका लागि जिल्ला स्तरीय टास्कफोर्स गठन भएको छ । विभिन्न समितिले तदारुकताका साथ काम गरिरहेको अवस्था छ । उपमहानगरपालिकले जमूनाह नाका, विमानस्थल, बसपार्क र बढि मानिसहरु जम्मा हुने स्थानमा हेल्थडेस्क सञ्चालन गरिरहेको छ ।

आदरणीय नगरबासी दिदीबहिनी तथा दाजुभाइहरु,
विश्वका शक्तिशाली देशहरुले पनि महामारीसँग जुध्न नसकेको अवस्थामा हामीले रोगको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउन जरुरी छ । तत्कालिन समयमा पक्कै पनि दैनिक जीवनयापनमा पनि केही असहजता हुनेछ । तर महामारीसँग जुध्नका लागि यो अत्यावश्यक पनि छ । यसैगरी विगतमा भन्दा अझ बढि र प्रभावकारी ढंगले ब्यक्तिगत सरसफाईमा ध्यान दिन पनि उत्तिकै आवश्यक छ ।
तेस्रो मुलुक तथा भारतका विभिन्न स्थानबाट भित्रिरहेका नेपालीहरुलाई १४ दिनसम्म घरमै क्वारेन्टाईनमा बस्न आग्रह छ । आम नगरबासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध छ । यतिबेला सिंगो विश्व नै महामारीबाट आक्रान्त बनिरहेको अवस्थामा प्रत्येक नागरिक पनि जिम्मेवार भई प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो बिश्वास छ ।
अहिलेसम्म रोग नदेखिएको अवस्थामा संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज शिक्षण अस्पतालसहितका विभिन्न अस्पतालहरुबाट गर्ने ब्यवस्था मिलाउन समन्वय गरिएको छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी एवं उपचार तथा अन्य कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतका जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ काम गर्न अपिल गर्दै उहाँहरुका लागि आवश्यक श्रोत साधन र उपकरण तत्काल ब्यवस्था मिलाइने छ ।
आदरणीय नगरबासी दिदीबहिनी तथा दाजुभाइहरु,
यतिबेला स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने अवस्था आएको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको मिति २०७६ साल चैत ९ गते बसेको आकस्मिक बैठकले गरेको निर्णय म यहाँ सार्वजनिक गर्न चाहन्छु ।

– अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २०७६ चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने
– उपमहानगरपालिकाका वडाबाट हुने सिफारिसको सम्पूर्ण कार्य बन्द गर्ने
– उपमहानगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरि आन्तरिक कार्य मात्र गर्ने
– उपमहानगरपालिकाले नगर बस, सटरभाडालगायत अन्य भाडा २०७६ चैत २१ गते सम्मका लागि मिनाह गर्ने,
– स्वास्थ्यकर्मीहरुलाई उपकरण लगायत अत्यावश्यक सामाग्री र उपकरण तत्काल ब्यवस्थापन गर्ने,
– सम्पूर्ण वडाहरुले थ्री लेयरको मास्क निर्माण गर्न लगाई वितरण गर्ने
– विपन्न समुदायका लागि साबुन वितरण गर्ने
– नगर क्षेत्रमा सरसफाईमा ध्यान दिदै ससाना नालाहरु सफा गर्ने, चुना लगाउने र घास हटाउने कार्य गर्ने
– कोरोना भाइरसबाट आम नगरबासीलाई सुरक्षित राख्न विभिन्न प्रचारात्मक अभियान चलाउने
– सम्पूर्ण वडाहरुमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परीक्षण गर्ने
– नगर बस, महेन्द्र पार्क र रानी तलाउ १५ दिनसम्म बन्द गर्ने
– नगर प्रहरी परिचालन गरि खुला मासु तथा खुला तथा फुटपाथमा चाट तथा अन्य विक्रि वितरण बन्द गर्ने
– सरसफाईकर्मीहरुले अनिवार्य मास्क र ग्लोव लगाएर मात्र काम गर्ने ब्यवस्था तत्काल मिलाउने
– कोरोना भाइरस (कोभिडं १९) पुर्व तयारीका लागि स्थापित कोषमा सहयोगका लागि सम्पूर्ण उद्योगी ब्यवसायी,सहकारी, संघ संस्था तथा सहयोगदातामा हार्दिक अनुरोध गर्ने । धन्यवाद !

अत्यमा कोरोना भाइरसविरुद्ध जुध्नका लागि स्थानीय सरकार वा कुनै संघ संस्थाले मात्रै सम्भव नहुने भएकाले आम नगरबासीबाट पूर्ण साथ र सहयोगको अपेक्षा नेपालगञ्ज उपमहानगरपालिकाले गरेको छ ।
धन्यवाद !


error: यो सुविधा उपलब्ध छैन !