भारतीय मजदुर साइकलमा सररर
नेपालगञ्ज – बाँकेका उद्योग कलकारखानामा भारतीय मजदुरको चाप छ । भनौ, यहाँका उद्योग, कलकारखाना, भौतिक संरचना निर्माण र इट्टाभट्टा भारतीय मजदुरले नै भरिएका छन् । दैनिक ज्यालादारी मजदुरहरु विहान साइकलमा आउँछन् र काम गरेर साँझ फर्किन्छन् । कतिपय मासिक तलव पाउने छन् ।
विश्वमै आतंक मच्चाएको कोरोनाको त्रासका बीच यी मजदुरहरु साइकलमा सररर नेपालगञ्ज आएको देखिन्छ । साइकलमा खाना राखेर विहान नेपालगञ्ज प्रवेश गर्ने भारतीय मजदुरको संख्या पाँच सय बढी हुने गरेको छ ।
स्थानीय प्रशासनले नाकामा सवारी साधन (साइकलसमेत) निषेध गरिदिएपछि उनीहरु छड्के बाटो समाउनु परेको छ । कतिपय साइकल यतै राखेर जाने र आउदा फेरि साइकल समातेर सिधै बाटो आउने गरेका छन् ।
साइकलमा एक हुलसहित नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडि भेटिएका रुपैडिहाका नन्दकिशोर यादवले विहान आउने र काम गरेर साँझ फर्किने गरेको बताउनुभयो । नन्दकिशोर एक दर्जनसँग साइकलमा आइरहेका थिए ।
यी मजदुरलाई कोरोनाको डर देखिदैनथ्यो । खाली कामको ध्याउन्न देखिन्थ्यो । नाकामा भारतबाट आएकालाई अनिवार्य रुपमा ज्वरो नाप्ने गरिएको छ । ज्वरो देखिएकालाई फिर्ता गर्ने गरिन्छ । बिहीबार नेपाल प्रवेश गर्न थालेका निराजन लोध पनि काम गर्न कैलाली जान थालेका थिए । उनलाई उच्च ज्वरो देखिएपछि नाकाबाट फिर्ता गरिएको थियो । नेपालगञ्ज काममा आउने भारतीयको पनि स्वास्थ्य जाँच जरुरी छ । तर, कसले गर्ने ? सिधा बाटोबाट उनीहरु कम आउँछन्, छोटी नाकामा स्वास्थ्य जाँचको व्यवस्था छैन ।
नेपालमा कोरोनाको जोखिम भारतबाट नै देखिन्छ । त्यही भएर केही समय अधिकांश नाका सिल नै गर्नुपर्ने नेपाल सरकारले भारतसमक्ष प्रस्ताव राखिसकेको छ । यस्तोमा बाँकेका छोटी नाकाको आवतजावतले जोखिम बढाएको छ । नरैनापुरको पाँच ठाउँमा हेल्थ डेस्क राख्ने कुरा गरेको छ । ६५ किलोमिटरको दक्षिण नाकामा अधिकांश छोटी नाका खुल्ला नै छ । यसतर्फ स्थानीय प्रशासनले ध्यान दिनु पर्ने जरुरी देखिन्छ ।