गाउँपालिकाको लगानीमा विद्युत विस्तार

नेपालगञ्ज – राप्ती सोनारी गाउँपालिकाको आफ्नै लगानीमा बिद्युत बिस्तारको काम शुरु भएको छ ।
बर्षौदेखि बिद्युतविहीन अवस्थामा रहेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा बिद्युतीकरण गर्न पोल गाड्ने काम शुरु गरिएको हो । बिद्युतीकरणका लागि बिहीबारबाट पोल गाड्ने काम सुरु भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३, बैसा गाउँमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच शिलान्यास गर्नु भयो । नेपाल बिद्युत प्राधिकरणले लगाएको ठेक्काको विवाद नसुल्झेपछि गाउँपालिकाले आफ्नै बजेटबाट बिद्युतीकरणको काम शुरु गरेको होे । सर्वसाधारणलाई बिद्युत सेवाबाट बञ्चित हुन नदिन गाउँपालिकाले आफ्नै बजेटबाट बिद्युतीकरणको काम शुरु गरेको अध्यक्ष थारुले प्रष्ट्याउनु भयो । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।
अध्यक्ष थारुका अनुसार, चालु वर्षभित्र वडा नम्बर ३ र आगामी आर्थिक वर्षको बजेटबाट वडा नम्बर ४ मा बिद्युतीकरणको काम सम्पन्न गरिनेछ । बिद्युतविहीन अवस्थामा रहेको राप्ती सोनारीको वडा नम्बर ५ मा भने बिद्युत प्राधिकरणकै ठेक्का यथावत रहेको बताइएको छ ।
बिद्युतीकरण शिलान्यास गरिसकेपछि बोल्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिकाले बिद्युतीकरणको कामलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । बिद्युतीकरणको काम सम्पन्न गर्न संघ र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने र सम्भव नभएमा गाउँपालिका आफैले बजेट थपेर भएपनि कामलाई पूर्णता दिने प्रतिबद्धता जनाउनु भयो ।
बिद्युतीकरणका लागि वडा नम्बर ३ मा कुल १ सय ९५ वटा पोल गाड्ने योजना छ । पोल गाडिसकेपछि तार बिस्तार गर्ने काम शुरु गरिने गाउँपालिकाले जनाएको छ । बिद्युत पोल गाड्न सुशान निर्माण सेवाले ठेक्का सम्झौता गरिसकेको छ । गाउँमा बिद्युतीकरणका लागि धमाधम पोल गाड्ने काम शुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । अलपत्र अवस्थामा रहेको बिद्युतीकरणको काममा गाउँपालिकाले हात हालेको भन्दै स्थानीय बासिन्दा हर्षित भएका हुन् । सोनारी बघौडा ग्रामीण बिद्युतीकरण समितिका सदस्य तथा स्थानीय समाजसेवी प्रेमराज श्रेष्ठले राजनीतिक प्रतिशोधका नाममा राप्तीपारीका जनतालाई बिद्युत सेवाबाट कसैले पनि बञ्चित गर्न नहुने बताउनु भयो । राप्तीपारी क्षेत्रमा बिद्युत बिस्तारको माग राख्दै पटक पटक धाउनु परेको स्मरण गर्दै उहाँले अब बिद्युतीकरणको कामले चाडैं पूर्णता पाउने विश्वास ब्यक्त गर्नु भयो । गाउँपालिकाले बिद्युतीकरणको काममा कुनै कसर बाँकी राख्न नहुनेमा उहाँको आग्रह छ ।


error: यो सुविधा उपलब्ध छैन !